बारा । पचरौता नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सवारी साधन तथा मेशिनरी र औजार मर्मतका नाममा रु. ६८ लाख ४८ हजार १८० खर्च गरेको पाइएको छ।
महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार नगरपालिकाले विभिन्न मर्मत तथा सर्भिस सेन्टर, कर्मचारी, कार्यालय सहयोगी तथा व्यक्तिलाई भुक्तानीमार्फत सवारी साधन तथा उपकरण मर्मत गराएको देखिएको छ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५(१-क२) अनुसार कम्पनीको आधिकारिक मर्मत वा सर्भिस सेन्टरबाट गरिने सवारी साधन, मेशिनरी, औजार तथा इलेक्ट्रिक डिभाइसको रु. ५ लाखसम्मको मर्मत सम्भार सोझै खरिद गर्न सकिने व्यवस्था छ।
तर, पचरौता नगरपालिकाले उक्त आर्थिक वर्षमा मेशिनरी तथा औजार मर्मतमा मात्र रु. १० लाख र अन्य सवारी साधन मर्मतमा रु. ५८ लाख ४८ हजार १८० गरि कुल ६८ लाख ४८ हजार १८० रुपैयाँ ल खर्च गरेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ।
यसरी नगरपालिकाले एक वर्षमै सवारी तथा मेशिनरी मर्मतमा ठूलो रकम खर्च गरेको देखिएपछि महालेखाले यस्तो खर्च नियन्त्रण गर्न सुझाव दिएको छ। उक्त आर्थिक वर्षमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तराज जोशी र लेखापाल हासिम मियाँ अन्सारी रहेका थिए ।
यस विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तराज जोशीसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन्।


