सिमराको नमूना माविले सार्वजनिक गर्‍यो आय–व्यय

रञ्जन यादव
25 पाठक संख्या

सिमरा । सामुदायिक विद्यालयमा सुशासन र सार्वजनिक उत्तरदायित्वलाई व्यवहारमै उतार्ने प्रयासस्वरूप बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित श्री नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय, बकुलियाले पहिलोपटक सामाजिक लेखापरीक्षण आयोजना गरेको छ। विद्यालयले आफ्नो आर्थिक, प्रशासनिक र शैक्षिक गतिविधिको सम्पूर्ण विवरण सार्वजनिक गर्दै सरोकारवालासँग प्रत्यक्ष संवाद गरेको हो।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सामाजिक लेखापरीक्षण समितिका संयोजक कृष्णप्रसाद चौधरीको अध्यक्षतामा विद्यालयले गत आर्थिक वर्षको वित्तीय अवस्था, सञ्चालन भएका कार्यक्रम, उपलब्धि र आगामी कार्ययोजनाबारे विस्तृत जानकारी प्रस्तुत गरेको थियो। कार्यक्रममा अभिभावक, जनप्रतिनिधि, शिक्षक, स्थानीय बुद्धिजीवी तथा सामाजिक अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रधानाध्यापक धन्नजय गौतमले प्रस्तुत गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा विद्यालयको कुल आम्दानी १ करोड २६ लाख २७ हजार ९१२ रुपैयाँ पुगेको छ। विभिन्न सरकारी अनुदान, स्थानीय तहको सहयोग र विद्यालयका आन्तरिक स्रोतबाट उक्त रकम संकलन भएको उनले जानकारी दिए।

वडा नं. ५ को कार्यालयले अतिरिक्त कोचिङ कक्षाका लागि विनियोजन गरेको ५ लाख रुपैयाँमध्ये हालसम्म २ लाख ७८ हजार ७ सय रुपैयाँ विद्यालयले प्राप्त गरिसकेको जनाएको छ। यस्तै किशोरी विद्यार्थीको स्वास्थ्य र नियमित उपस्थितिलाई ध्यानमा राख्दै स्थानीय सरकारले १ लाख ८ हजार ४ रुपैयाँ बराबरको सेनिटरी प्याड खरिदका लागि सहयोग उपलब्ध गराएको जानकारी पनि कार्यक्रममा सार्वजनिक गरियो।

प्रधानाध्यापक गौतमका अनुसार केही वर्षदेखि रोकिएको नमूना विद्यालय विकास कार्यक्रम पुनः सञ्चालनमा आएसँगै गत आर्थिक वर्षमा सो कार्यक्रममार्फत १३ लाख ७० हजार रुपैयाँ खर्च गरिएको छ। आगामी वर्षमा पनि भौतिक पूर्वाधार विस्तार, सूचना–प्रविधिमा आधारित शिक्षण, सिकाइ उपलब्धि सुधार तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई केन्द्रमा राखेर बजेट परिचालन गरिने उनले बताए।

शिक्षक प्रतिनिधि सन्तोषकुमार गुप्ताले विद्यालयमा सञ्चालन भइरहेको सेनिटरी प्याड वितरण कार्यक्रमले किशोरी विद्यार्थीको विद्यालय छाड्ने प्रवृत्ति घटाउन र नियमित उपस्थितिमा वृद्धि गर्न सहयोग पुगेको बताए। यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने विद्यालयको योजना रहेको उनले उल्लेख गरे।

छलफलका क्रममा सहभागीहरूले विद्यालयले पहिलोपटक अपनाएको सामाजिक लेखापरीक्षणको अभ्यासलाई सार्वजनिक शिक्षामा विश्वास बढाउने महत्वपूर्ण कदमका रूपमा व्याख्या गरे। विद्यालयले आफ्नो सम्पूर्ण गतिविधि समुदायमाझ खुला रूपमा प्रस्तुत गरेकाले अभिभावक र स्थानीय तहबीचको सहकार्य थप मजबुत हुने विश्वाससमेत व्यक्त गरिएको थियो।

विद्यालय प्रशासनले सामाजिक लेखापरीक्षणलाई एकपटकको कार्यक्रममा सीमित नराखी हरेक वर्ष नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। यस अभ्यासले जीतपुरसिमरा उपमहानगरपालिकाका अन्य सामुदायिक विद्यालयलाई पनि पारदर्शिता र उत्तरदायित्वतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।

Leave a review

This will close in 0 seconds