कलैया । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ।
बिहीबार राति करिब १० बजे बघवनबाट कलैयातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा कलैया उपमहानगरपालिका –१४ का ३३ वर्षीय पाण्डे घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पठाइएको थियो।
बयोधा अस्पतालमा चिकित्सकले राति १०ः५० बजे पाण्डेलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन् ।
उनको शव बयोधा अस्पतालमा राखिएको छ भने दुर्घटनामा परेको मोटरसाइकल अस्थायी प्रहरी पोस्ट बसपार्कको नियन्त्रणमा रहेको प्रवक्ता घलेले जानकारी दिए ।
पाण्डे लामो समयदेखि राजनीतिमा सक्रिय थिए। उनी यसअघि जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट समाजवादी युवा संघमा सक्रिय रहँदै आएका थिए। उनी बारा क्षेत्र नम्बर ३(ख) का पूर्वप्रदेशसभा सदस्य पारसप्रसाद साहका स्वकीय सचिवसमेत थिए। पछिल्लो समय उनी जनमत पार्टीका केन्द्रीय सदस्यका रूपमा सक्रिय रहेका थिए।


