चालु आर्थिक वर्षको अन्तिम महिनामा हाकिम नहुँदा गुजराका करोडौं रकम फ्रिज हुने चिन्ता,हाकिम पठाउन मेयरले मागे गुहार

साझेदारी दैनिक
542 पाठक संख्या

रौतहट । आर्थिक वर्षको अन्त्यतिर आएर रौतहटको गुजरा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन हुँदा नगरको करोडौं रकम फ्रिज हुने अवस्थामा पुगेको छ भने नगरको कामकाज निकै प्रभावित भएको छ। गुजरा नगरपालिका गएको बैसाख १७ गतेदेखि नै हाकिम विहिन छन् ।

चालु आर्थिक वर्षको अन्तिम महिना असारमा पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा गुजरा नगरपालिकाका विकास निर्माण लगाएत अन्य कामकाज प्रभावित हुनुका साथै विभिन्न विकास निर्माणका योजनाहरुको करोडौं रकम भुक्तानी हुनबाट रोकिएको छ।

असारमा पनि हाकिम नहुँदा सो पालिकामा प्रदेश सरकारको शसर्त अनुदानको पनि करोडौं रकम फ्रिज हुने अवस्थामा पुगेको मेयर सन्तलाल चौधरीले बताएका छन।

नगरपालिकामा आज पत्रकारहरु संग कुरा गर्दै गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चरम लापरवाहीका कारण गुजरा नगरपालिकाका विकास निर्माणका कामकाज प्रभावित हुनुका साथै करोडौंको रकम फ्रिज हुने अवस्थामा पुगेको बताएका छन्।

गुजरा नगरपालिकामा कामकाज गर्न भनी २०८१ भदौ ५ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल २०८२ बैसाख १७ गतेसम्म कामकाज गरेका थिए ।

कामकाज गर्दै गरेको अवस्थामा प्रशासकीय अधिकृत ढकालको वैशाख १७ गते जनकपुर उपमहानगरपालिकामा सरुवा भएको थियो।

ढकाल २०८२ बैसाख २१ गते सो उप महानगरपालिकामा हाजिर भई कामकाज गर्न थालेपछि गुजरा नगरपालिका सो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन रहँदै आएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको अवस्थामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत यही असार ११ गते डाक्टर श्रवण कुमार साहलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न खटाएको थियो ।

२०८२ साल असार ३ गते प्रमुख प्रशासकीय अधिकृत श्रवण कुमार साह गुजरा नगरपालिकामा कामकाज गर्न हाजिर भएका थिए तर हाजिर भएको एकदिनमै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासकीय अधिकृत साहको जिम्मेवारी खोस्दै रौतहटकै चन्द्रपुर नगरपालिकामा प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो ।

हाल प्रशासकीय अधिकृत श्रवण कुमार साह चन्द्रपुर नगरपालिकामा कामकाज गरिरहेकाले गुजरा नगरपालिका पुनः प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको छ।

गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीको सभाकक्षमा आज बसेको नगरसभाको विशेष बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालू आर्थिक वर्षको अन्तिम महिनामा गरेको प्रशासकीय अधिकृतको सरुवाप्रती खेद प्रकट गरेको छ।

मन्त्रालयले आर्थिक चलखेलको आधारमा बदनियतपूर्ण ढंगले आर्थिक वर्षको अन्त्य असार महिनामा हाकिमको अन्यत्र सरुवा गरी नगरको विकास निर्माण लगाएत अन्य कार्यमा अनुरोध पुर्याउने काम गरेको बैठकमा सहभागी मेयर सन्तलाल चौधरीले जानकारी दिएका छन्।

हाकिम नहुँदा सम्पन्न भइसकेका विभिन्न योजनाको करोडौं रुपैयाँ भुक्तानी हुने अवस्था नरहेको र प्रदेश सरकारको ससर्त अनुदानको पनि करोडौं रकम फ्रिज हुने अवस्था रहेकोले यथासिघ्र प्रमुख प्रशासकीय अधिकृत पठाइदिन हुन् नगर प्रमुख चौधरीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसंग अनुरोध गरेका छन्।

असारमा हाकिम नभए पालिकाको करोडौं रकम फ्रिज भई ठूलो आर्थिक नोक्सान हुने भएकोले तत्काल निमित्त वा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरी ठूलो आर्थिक नोक्सान हुनबाट पालिकालाई जोगाउन मेयर चौधरीले संघीय मामिला मन्त्रीसँग गुहार मागेका छन्।

त्यस्तै हाकिम नहुँदा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेत समयमा ल्याउन नसकिने अवस्था रहेको उनले बताए।

Leave a review

This will close in 0 seconds