Sajhedari Daily
Latest News from Nepal

बिभिन्न मुदाका फरार प्रतिवादी पक्राउ

पर्सा प्रहरीले बिभिन्न बिभिन्न मुदामा फरार रहेको सात जना प्रतिबादीहरुलाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध चरेश,अपहरण,सवारी ज्यान लगायतका मुदामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।

शरीर बन्धक मुद्दामा ९ बर्ष कैद ५० हजार जरिवाना तोकिएका अपहरण तथा शरिर बन्धक मुदाका फरार प्रतिबादी वीरगञ्ज महानगरपालिका–२९ बस्डिल्वा बस्ने ४० बर्षिय बुधन राम चमारलाई प्रहरीले पक्राउ गरेको हो ।

चमारलाई २०७३ साल असार ६ गतेको फैसलाले कैद र जरिवाना तोकेको थियो । चमारले भारत विहार पूर्वी चम्पारण जिल्ला मोतिहारी रक्सौल नगरपरिषद–.२१ बस्ने २१ बर्षिय रितेश कुमारलाई अपहरण गरी फिरौती रकम माग गरेका थिए ।

यसैगरी १८ किलो लागुऔषध मुदाका फरार प्रतिबादी पर्साको छिपहरमाई गाउँपालिका १ बस्ने रामेश्वर कुशवाहा र शेखर महतोलाई जिल्ला प्रहरी तथा ईलाका प्रहरी कार्यालय पोखरियाको टोलीले उनीहरुकै घरबाट पक्राउ गरेको छ ।

कुशवाहाले आफनै घरको शौचालय पछाडी परालमा छोपी लुकाई छिपाई गरी राखेको अवस्थामा ३६ वटा प्याकेटमा भएको १८ किलो लागु औषध चरेश बरामद भएको थियो । सो बेला दुबैजना फरार भएका थिए ।

यसैगरि सवारी ज्यान मुदामा फरार रहदै आएका सखुवा प्रसौनी गाउपालिका–२ बस्ने अनिल सहनी,किशोर सहनी र भरत सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही स्थान बस्ने मनोज राना मगरलाई ज्यान मार्ने उद्योग मुदामा फरार रहदै आएकोमा पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका सबैलाई आवश्यक कारवाहीको लागि अदालतमा पेश गरिएको पर्सा प्रहरीले जनाएको छ ।