सीमान्तकृत समुदायको स्वास्थ्य पहुँच बढाउन तीनवर्षे परियोजनाबारे छलफल

साझेदारी डेलि
42 पाठक संख्या

कलैया । बारामा सीमान्तकृत समुदायको यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले तीनवर्षे परियोजना सञ्चालन गरिने भएको छ। परियोजनामार्फत पाठेघरको मुखको क्यान्सर परीक्षणलाई समुदायस्तरसम्म विस्तार गर्ने लक्ष्यसमेत लिइएको छ।

परियोजनाको कार्यान्वयन तथा जिल्लास्तरीय समन्वयका विषयमा मंगलबार कलैयामा प्रारम्भिक बैठक गरिएको हो। कलैया उपमहानगरपालिका–४ स्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको बैठकमा ‘समुदाय पहुँचमार्फत सीमान्तकृत जनसंख्याका लागि पाठेघरको मुखको क्यान्सर परीक्षणसहित यौन तथा प्रजनन स्वास्थ्य सेवा र सूचनामा पहुँच विस्तार–दोस्रो चरण’ परियोजनाबारे छलफल भएको थियो।

मेरी स्टोप्स इन्टरनेसनल यूकेको आर्थिक तथा प्राविधिक सहयोगमा सुनौलो परिवार नेपालले परियोजना सञ्चालन गर्ने जनाएको छ। परियोजनाले स्वास्थ्य सेवाको पहुँचबाट पछाडि परेका समुदायलाई लक्षित गरी आवश्यक स्वास्थ्य सेवा तथा जानकारी उपलब्ध गराउने बताइएको छ।

बैठकमा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्रकुमार साहले परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताए। सीमान्तकृत समुदायलाई लक्षित कार्यक्रमले उनीहरूको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

परियोजनाअन्तर्गत यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा र सूचना प्रवाहसँगै पाठेघरको मुखको क्यान्सरको परीक्षण सेवामा समुदायको पहुँच बढाइनेछ। बारासहित ताप्लेजुङ, धनुषा, बैतडी, बर्दिया र नुवाकोटमा समेत परियोजना सञ्चालन भइरहेको जानकारी बैठकमा दिइएको थियो।

जिल्ला समन्वय समिति बाराका प्रमुख साहको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला समन्वय समितिका सदस्य श्यामबाबुप्रसाद यादव, निमित्त जिल्ला समन्वय अधिकारी रौशन साह, जनस्वास्थ्य अधिकारी कञ्चन नेपाली, प्रज्ञा सुवेदी, अविनाश सिंह, अब्दुलहक अन्सारी, अमितकुमार चौधरी, जनस्वास्थ्य अधिकृत सुरेन्द्रप्रसाद साहलगायत सहभागी थिए।

त्यस्तै प्रादेशिक अस्पताल कलैयाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मुकुन्दप्रसाद यादव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाराका प्रहरी निरीक्षक राजाबाबु ठाकुरसहित जिल्लाका १६ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखको पनि सहभागिता रहेको थियो।

Leave a review