पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु राज्यको गम्भीर त्रुटि : प्रभु साह

साझेदारी डेलि
20 पाठक संख्या

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा लिइएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् ।

अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमार्फत सुरक्षाको बहाना बनाएर पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु गम्भीर चिन्ताको विषय भएको बताएका हुन् ।

उनले राज्यका विशिष्ट व्यक्तित्वहरू नै सुरक्षित नरहेको अवस्था देखिनु र कानुनी प्रक्रियासमेत मिचिने हो भने सर्वसाधारण नागरिकको सुरक्षाको अवस्था झन् गम्भीर बन्ने प्रश्न उठाएका छन् ।

‘सुरक्षाको बहाना बनाएर पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु गम्भीर चिन्ताको विषय हो । आज राज्यका विशिष्ट व्यक्तित्वहरू नै सुरक्षित छैनन् र कानुनी प्रक्रिया यसरी मिचिन्छ भने भोलि सर्वसाधारणको अवस्था के होला ?,’ आजपा अध्यक्ष साहले लेखेका छन् ।

साहले यस्तो कार्यलाई आफूले गैरकानुनी र स्वेच्छाचारी कार्यका रूपमा लिएको उल्लेख गर्दै त्यसको विरोध गर्न आग्रह गरेका छन् । उनले नागरिकलाई कानुनी शासनको पक्षमा आवाज बुलन्द गर्नसमेत आह्वान गरेका छन् ।

पूर्वप्रधानन्यायाधीश जबरालाई आइतबार बिहान करिब ३ बजे काठमाडौंस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उनलाई सुरक्षा चुनौती देखिएपछि सुरक्षित स्थानमा राख्न कार्यालय ल्याइएको जनाएको छ । यद्यपि, घटनाको समयमा पक्राउ पुर्जी वा नियन्त्रणको स्पष्ट कानुनी आधारबारे जानकारी नदिइएको भन्दै प्रश्न उठेको छ ।

यही घटनालाई लिएर आजपा अध्यक्ष साहले कानुनी शासन, नागरिक अधिकार र राज्यको जवाफदेहितामाथि प्रश्न उठाउँदै सम्बन्धित पक्षलाई सचेत हुन आग्रह गरेका छन् । उनले राज्यले सुरक्षा र कानुनको नाममा नागरिकका अधिकार तथा स्थापित कानुनी प्रक्रियालाई कमजोर बनाएको टिप्पणी गरेका छन् ।

Leave a review