माछा-मासु पसल बन्द गर्न प्रसौनी-२ को निर्देशन, अटेर गरे कारबाही हुने

साझेदारी डेलि
69 पाठक संख्या

बारा । बाराको प्रसौनी गाउँपालिका-२ वडा कार्यालयले वडा क्षेत्रका प्रसौनी चौक तथा बजारमा सञ्चालित सम्पूर्ण माछा–मासु पसल घटस्थापनादेखि सप्तमीसम्म बन्द गर्न सूचना जारी गरेको छ।

वडा कार्यालयले वडा दशैंको अवसरमा प्रसौनी चौकमा दुर्गा पूजा हुन लागेको जनाउँदै पूजा अवधिभर माछा तथा मासु पसल बन्द गरी सहयोग गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरेको हो।

वडा अध्यक्ष हिरदय कुमार साह तेलीले बिहिवार जारी गरेको सूचनामा २०८३ असोज २५ गतेदेखि दुर्गा पूजा सञ्चालन हुने उल्लेख गर्दै घटस्थापनाको दिनदेखि सप्तमीसम्म पसल बन्द गर्न भनिएको छ।

वडा कार्यालयले सूचनाको अवज्ञा गरी पसल सञ्चालन गरे कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ। आवश्यक कार्यान्वयन तथा सुरक्षाका लागि प्रसौनी गाउँपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय प्रसौनी नौतनलाईसमेत बोधार्थ पठाइएको छ।

Leave a review