Sajhedari Daily
Latest News from Nepal

अपाङ्ग युवाको मनोबल बढाउन व्हिलचियर हस्तान्तरण

अनिलकुमार साह

अन्तर्राष्ट्रिय लागु औषधरहित दिवसको अवसर पारेर आज लायन्स क्लब अफ सिमरा युथ र नयाँ गोरेटो पुनर्स्थापना केन्द्रले संयुक्त रुपमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का ३० वर्षीय दिलिप बास्कोटालाई व्हिलचियर हस्तान्तरण गरेको हो।बास्कोटा लागुऔषधको पूर्व प्रयोगकर्ता रहेका छन्।

ती दुबै संस्थाका प्रतिनिधिहरुले घरमै पुगेर व्हिलचियर सहयोग गरेपछी बास्कोटा खुशी देखिएका थिए । उनले पुनर्स्थापना केन्द्रमा उपचार लिएपछि लागुऔषधको प्रयोग छाडेका थिए। उनले सवारी दुर्घटनामा खुट्टा गुमाएका थिए । काठमाडौको कोटेश्वरमा भएको सवारी दुर्घटना परी उपचारका क्रममा उनको खुट्टा काट्नु परेको थियो।

दुर्घटनापछि घरमा बस्दै आएका बास्कोटालाई लायन्स क्लब सिमरा युथ र नयाँ गोरेटो पुनर्स्थापना केन्द्रले सहजताका लागि व्हिलचियर सहयोग गरेको जानकारी गराएको छ। अपाङ्ग युवाको मनोबल उच्च राख्न र दैनिक जिवनको सहजताका लागि व्हिलचियर र फलफुल सहयोग गरिएको नयाँ गोरेटोका अध्यक्ष राजकुमार लामाले बताएका हुन। सो व्हिलचियरका लागि नेपाल अपाङ्ग सेवा संघ बाराले सहजीकरण गरेको थियो ।

व्हिलचियरका लागि लायन्स क्लब अफ सिमराका अध्यक्ष हन्कल्पित न्यौपाने , नयाँ गोरेटोका अध्यक्ष राजकुमार लामा , लायन्स क्लबका प्रथम उपाध्यक्ष दिवाकर भण्डारी , सदस्य सरोज खनाल , निलिशा बर्मा , सपना ढकाल , सुशान्त साह , सिमराकी लक्की श्रेष्ठ , लीला लोप्चन , चन्द्रपुर निवासी देवेन्द्र अर्याललगायतले आर्थिक सहयोग गरेको जानकारी गराइएको छ।