करन कुमार मिश्र/
गृहमन्त्रालयले रौतहटको इलाका प्रशासन कार्यालय गरुडाको कामकाज ठप्प भएको छ । ईप्रका गरुडामा कार्यरत शाखा अधिकृत वा कामु शाखा कार्यालय प्रमुख नहुदा कार्यालयको कामकाज ठप्प भएको हो । कार्यालयमा कामकाज नहुदा सेवाग्राहीको काम प्रभावित भएको छ ।
इलाका प्रशासन गरुडाको कामकाजका लागि यसअघि गृह मन्त्रालयले नायब सुब्बा रामस्वार्थ राय यादवको छ महिनाको समयावधि गत कार्तिक १५ गते सकिएपछि मन्त्रालयले अर्को कार्यालय प्रमुखको व्यवस्था नगर्दा नागरिकता वितरण,मधेसी,दलित,जनजाति प्रमाणीकरण तथा सिफारिस गर्ने लगायतका सेवा प्रभावित भइरहेको छ ।
इलाका प्रशासन गरुडाको कामकाजका लागि मन्त्रालयले नायब सुब्बा यादवलाई कायममुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावधि गत कार्तिक १५ गते सकिएको छ तर गृह मन्त्रालयले उनको ठाउँमा अझै नयाँ शाखा अधिकृत वा कामु शाखा अधिकृतको व्यवस्था गर्न नसक्दा इलाका प्रशासन कार्यालय गरुडा विगत एक महिनादेखी कार्यालय प्रमुख विहीन बनेको छ ।
विगत चार वर्षदेखि कार्यरत यादवलाई यसअघि मन्त्रालयले पटक पटक कामुको जिम्मेवारी दिदैआएको थियो । सेवाग्राहीको कामकाज प्रभावित नहोस भन्ने उद्देश्यले अर्को कार्यालय प्रमुखको व्यवस्था नहुन्जेलसम्मको लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत मणिभुषण साहलाई इलाका प्रशासन कार्यालय गरुडाको सेवा प्रवाहका लागि खटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय गौरले प्रशासकीय अधिकृत साहलाई इलाका प्रशासन कार्यालयमा कामकाज गर्न खटाएपनि दुई ठाउँको जिम्मेवारीमा रहेका प्रशासकीय अधिकृत साह नियमित इलाका प्रशासन कार्यालय गरुडामा बस्न नसक्दा सेवाग्राहीको कामकाजमा ढिलासुस्ती भइरहेको उनिहरुको गुनासो छ ।
कार्यालय प्रमुखको अभावमा सेवाग्राहीको कामकाज प्रभावित हुन नदिन अर्को कार्यालय प्रमुखको व्यवस्था नहुन्जेलसम्मको लागि प्रशासकीय अधिकृत साहलाई इलाका प्रशासन कार्यालय गरुडामा खटाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्र कुमार मिश्रले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी मिश्रले इलाका प्रशासन कार्यालयको कायममुकायम शाखा अधिकृतको जिम्मेवारीको म्याद सकिएको विषयमा गृह मन्त्रालयलाई जानकारी गराई सकिएको बताए । गृह मन्त्रालयले अब चाडै यहाँ नयाँ कार्यालय प्रमुख पठाउन लागेको सिडियो मिश्रले बताए ।
‘हामीले जानकारी गराइ सकेका छौं,उनले भने,‘अर्को कार्यालय प्रमुख वा नासु रामस्वार्थ यादवलाई नै कायममुकायमको जिम्मेवारी दिन मन्त्रालयलाई पत्राचार गरिसकेको छु । तर, अझै आदेश आएको छैन ।’ तर निजामती सेवा ऐनमा एउटै पदमा उही व्यक्तिलाई वा फरक–फरक व्यक्तिलाई लगातार कायममुकायम दिन नमिल्ने व्यवस्था भएकाले भइरहेको व्यक्तिलाई निरन्तरता दिन कानुनी अड्चन देखिएको सिडिओ मिश्रले बताए ।
स्थापनाकाल २०७३ सालदेखि नै निमित्तकै भरमा इलाका प्रशासन कार्यालय गरुडा चल्दै आएको छ । अधिकृतस्तरको दरबन्दी भए पनि गृहमन्त्रालयले हालसम्म अधिकृत पठाउन सकेको छैन ।

