सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ सिमरा औराहास्थित प्रस्तावित ‘बाबाजी लक्ष्मी धाम’ मा आगामी मंसिर १० देखि १६ गतेसम्म आयोजना हुने श्रीकृष्ण प्रणामी धर्म अन्तर्राष्ट्रिय बाबाजी स्मृति महोत्सवको तयारीले गति लिएको छ। साताव्यापी धार्मिक आयोजनालाई सफल बनाउन आयोजकले स्थानीयदेखि केन्द्रीय तहसम्मका संघसंस्था र समितिहरूसँग समन्वयलाई तीव्र बनाएका छन्।
महोत्सवको तयारीबारे शनिबार मूल समारोह समितिका संयोजक जनार्दन शास्त्री महाराजजीको अध्यक्षतामा स्थानीय संघसंस्था, धार्मिक संस्थाका प्रतिनिधि, समाजसेवी तथा व्यवसायीसँग छलफल गरिएको थियो। भेलामा महोत्सव सञ्चालनका लागि आवश्यक सहयोग, व्यवस्थापकीय पक्ष र सरोकारवालाको जिम्मेवारीबारे विचारविमर्श भएको थियो।
यसैगरी, मन्दिर परिसरमै श्रीकृष्ण प्रणामी बाईजुराज महिला समितिका केन्द्रीय, प्रदेश, जिल्ला तथा इकाई तहका प्रतिनिधिहरूको छुट्टै तयारी बैठकसमेत सम्पन्न भएको छ। बैठकमा धर्मप्रचारिका विदुषी उषा घिमिरे माताजीले महोत्सवको व्यवस्थापन, प्रचारप्रसार, स्वयंसेवक परिचालन, अतिथि सत्कार तथा आवास र भोजन व्यवस्थापनका विषयमा प्रतिनिधिहरूसँग छलफल गर्नुभएको थियो।
देश तथा विदेशबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षासहित उनीहरूको बसोबास, खानपान र अन्य आवश्यक सुविधाको व्यवस्था मिलाउने विषयमा समेत बैठकले प्राथमिकता दिएको छ। महोत्सवलाई व्यवस्थित बनाउन विभिन्न तहका समितिबीच जिम्मेवारी बाँडफाँट र समन्वय गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।
धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक महत्वका साथ आयोजना गर्न लागिएको महोत्सवले श्रीकृष्ण प्रणामी धर्मको प्रचारप्रसारसँगै धार्मिक पर्यटन प्रवर्द्धन र सिमरा क्षेत्रको धार्मिक पहिचान विस्तारमा योगदान पुर्याउने आयोजकको अपेक्षा छ।
महोत्सवको उद्घाटन तथा कलश अनावरण श्रीकृष्ण प्रणामी धर्मका वर्तमान धर्माचार्य अनन्तश्री विभूषित जगद्गुरु श्री १०८ श्रीकृष्णमणि महाराजश्रीबाट गरिने कार्यक्रम रहेको युवा परिषद्का केन्द्रीय सदस्य सुमन सुवेदीले जानकारी दिनुभयो।



