सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपाली तराई–मधेश समुदायको मौलिक पर्व छठलाई भव्य रूपमा मनाउने तयारी गरिएको छ। एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एएनटीए) को आयोजनामा ‘सिड्नी छठ २०२६’ दुईदिने विशेष कार्यक्रमका रूपमा आयोजना हुने भएको छ।
लिभरपुल सिटी काउन्सिलको सहयोग तथा विभिन्न संघसंस्था र व्यवसायीहरूको प्रायोजनमा हुने उक्त महोत्सव नोभेम्बर १५ र १६ तारिखमा सिड्नीको चिपिङ नोर्टनस्थित सिड्नी छठघाटमा सञ्चालन हुनेछ।
आयोजकका अनुसार नोभेम्बर १५ आइतबार दिउँसो ३ बजेदेखि अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने धार्मिक कार्यक्रम सुरु हुनेछ। त्यसैगरी नोभेम्बर १६ सोमबार बिहान ४ बजेदेखि उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने कार्यक्रम तय गरिएको छ।
महोत्सवको मुख्य आकर्षणका रूपमा गायक रविराज साह र गायिका प्रियंका सिंहको विशेष सांगीतिक प्रस्तुति रहनेछ। यसैगरी विकास शर्मा तथा उनको समूहको प्रत्यक्ष सांगीतिक प्रस्तुति र शिवगर्जना सिड्नीको ढोल–तासाको प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाउने आयोजकले जनाएको छ।
विदेशमा रहेर पनि आफ्नो मौलिक भाषा, संस्कृति, धार्मिक आस्था र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। छठ पर्वले नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास आयोजकको छ।
आयोजकले अस्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई महोत्सवमा सहभागी भई छठ पर्वको धार्मिक तथा सांस्कृतिक उत्सवमा एकाकार हुन आग्रह गरेका छन्। महोत्सवमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
‘सिड्नी छठ २०२६’ ले विदेशमा नेपाली संस्कृति तथा तराई–मधेशको मौलिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।



