राष्ट्रिय बनसित सीमाना जोडिएका पर्साका स्थानीय तहमा जङ्गली जनावरको आतंक जारी रहेको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज र जङ्गलसित सीमाना जोडिएको पटेर्वा सुगौली गाउँपालिका,ठोरी जिरा भवानी,सखुवा प्रसौनी गाउँपालिकामा हरेक वर्ष झैं यस बर्ष पनि जङ्गली जनावरहरुको आतंक जारी रहेको छ ।
निकुञ्ज र जँगलबाट निस्कने हात्ती,बाघ,घोडगदहा लगायतका जंगली जनावरहरुले बालीसंगै मानवीय क्षति समेत गर्दै आईरहेको छ । आईतबार साँझ एक जना युवकलाई बाघले मारेको छ ।पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ निवासी मनोज उराँवको बाघले ज्यान लिएको छ ।
मनोज साँझको बेलामा नजिकै रहेको जँगलमा शौच गर्नको लागि गएका थिए । उनलाई बाघले आक्रमण गरेको थियो ।बाघले उरावलाई घिसारेर जङ्गलमा नै लगेर खाई दिएको थियो ।
बाघको आक्रमणले मृत्यु भएका उरावको मोबाईल र शरीरका केही भागहरु प्रहरीले जङ्गलबाट खोजतलाशको क्रममा फेला पारेको थियो ।जङ्गलबाट आएको बाघले स्थानीय उरावको ज्यान लिएको प्रहरीले जनाएको छ । प्रहरीले उरावको शरीरको भागलाई पोष्टमार्टमको लागि नारायणी अस्तपतालमा पठाएको छ ।
बाघले बर्षेनी मानिसहरुको ज्यान लिने गरेको छ । जिल्लाका किसानहरुले लगाएको बालीनाली खाएर माडेर पनि नष्ट गर्दै आईरहेको छ । सम्बन्धित निकायले हालसम्म जंगली जनावहरुबाट मानिसहरुसँगै किसानको बालीनाली पनि बचाउन सकेको छैन ।
बाघको आक्रमणमा परिे उराँवको ज्यान गएको हो । पर्सा निकुञ्जबाट जंगली जनावरहरु निस्किरहेको र सोको लागि निकुञ्ज प्रशासन सचेत हुन र रोकथामका उपाय अपनाउन स्थानीयले आग्रह गरेको पटेर्वा सुगौली गाउँपालिका २ का वडाध्यक्ष बिजय गैरैले जानकारी दिए ।
उनले निकुञ्जको लापरबाहीको कारण एक जनाको अनाहकमा मृत्यु भएको आरोप लगाए ।गैरेले मृतकका परिवारलाई तत्काल उचित क्षतिपूर्तिको लागि सम्बन्धित निकायसित माग पनि गरे ।जँगली जनावरहरुबाट बाली बचाउनको लागि भेपर लाईट गाउँपालिकामा जडान गरिएको छ ।
स्थानीयबासीहरु पनि सचेत हुन जरुरी रहेको गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले बताईन ।उनले घरमा शौचालय हुदाहुदै पनि मानिसहरु बानीका कारणले बाहिर दिशा पिसाब गर्न जाने भएकाले यस्ता घटनाहरु हुने गरेको बताईन् ।
गाउँपालिकाले मृतकका परिवारसित भेटेर सम्बन्धित निकायमा उचित क्षतिपुर्तिको लागि पहल गर्ने आश्वासन उनले दिईन ।जंगलसित सीमाना जोडिएका गाउँ वरिपरि विद्युुतीय तारबार गरिएको छ ।
त्यसमा मानिसहरु समेत पर्न सक्ने भएकाले बिधुत भने नछाडिएको महतोको भनाई रहेको छ ।

