मालपोत पर्साका दुई जना प्रमुखसहित चार कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

राम मण्डल
359 पाठक संख्या

विशेष अदालतले भ्रष्टाचार मुद्दामा चार जना कर्मचारीहरुलाई दोषी ठहर गरेको छ ।

अदालतले भ्रष्टाचार मुद्दामा कार्यालयका तत्कालिन दुई जना प्रमुख,नायब सुब्बा र एक जना लेखापाल गरी चार जना कर्मचारीहरुलाई दोषी ठहर गरेको हो ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर हुनेहरुमा जिल्ला मालपोत कार्यालय पर्साका तत्कालिन प्रमुखहरु प्रकाश प्रसाद पोखरेल र गम बहादुर विश्वकर्मा रहेका छन ।

यसैगरि सोही मुद्दामा कार्यालयका नायव सुब्बा मदन प्रसाद गुप्ता,लेखापाल नागेन्द्र प्रसाद चौधरीलाई पनि बिशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । चारैजनालाई सजाय निर्धारणको लागि आदेश अदालतले दिएको छ ।गत बुधबार चारैजना बिरुद्ध अख्तियारले दायर गराएको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको हो ।

अदालतका न्यायाधीश टेक नारायण कुँवर,नारायण सिंह राई र रितेन्द्र थापाको ईजलाशले दोषी भएको ठहर गर्दै सजाय निर्धारणको आदेश गरेको हो । मालपोत कार्यालयमा रकम हिनामिना गरि भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७९ साल चैत २८ गते चारैजना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गराएको थियो ।

अख्तियारले उनीहरुले मालपोत कार्यालयमा आर्थिक वर्ष २०७२÷७३ मा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम नियम अनुसार दाखिला नगरी हिनामिना गरेको पाएको थियो ।

तत्कालीन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल बिरुद्ध ९३ लाख ६६ हजार २०९,तत्कालीन कार्यालय प्रमुख गमबहादुर विश्वकर्मा विरुद्ध एक लाख ४१ हजार ८२५ रुपैया बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गराएको थियो ।

कार्यालयका तत्कालीन नायव सुब्बा मदन प्रसाद गुप्ता र तत्कालीन लेखापाल नागेन्द्र प्रसाद चौधरी बिरुद्ध जनही ९५ लाख ८ हजार ३४ रुपैयाँ बिरुद्ध ९५ लाख ८ हजार ३४ रुपैया बिगो माँग गर्दै बिशेष अदालतमा भ्रष्टाचार मुद्दा अख्तियारले दायर गराएको थियो ।मालपोत कार्यालय पर्सामा चरम भ्रष्टाचार हुने गरेको जिल्लाबासीहरु बताउँछन ।

मालपोतमा बिना पैसाको कुनै पनि काम नहुने गरेकोले मालपोत कार्यालय भ्रष्टाचारको अडडा बनेको पनि जिल्लाबासीहरुको भनाई छ ।

Leave a review