बारा । प्रादेशिक अस्पताल कलैयामा बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले छड्के अनुगमन गरेका छन्। अस्पतालको सेवा प्रवाह, सरसफाइ तथा व्यवस्थापनबारे सेवाग्राहीको गुनासो बढ्दै गएपछि उनले शुक्रबार अस्पतालको छड्के अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा प्रजिअ अधिकारीले अस्पतालको सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएका छन्। अस्पतालभित्र र बाहिर फोहोर देखिएको भन्दै सरसफाइकर्मी परिचालन गरी तत्काल सफा राख्न उनले निर्देशन दिएका छन् । चिकित्सक बस्ने कोठा तथा अस्पतालका अन्य कक्षहरू पनि सफा र व्यवस्थित हुनुपर्ने उनको भनाइ थियो। आगामी अनुगमनमा अस्पताल परिसर तथा चिकित्सक बस्ने कोठामा फोहोर देखिन नहुने उनले स्पष्ट पारे।
त्यस्तै, अस्पतालका कर्मचारीको ड्युटी तालिका सबैले स्पष्ट देख्ने गरी राख्न, सञ्चालनमा रहेका मेसिन तथा उपकरण अनिवार्य रूपमा सञ्चालनमा ल्याउन र उपलब्ध जनशक्तिको अधिकतम उपयोग गर्न उनले निर्देशन दिए। अस्पतालमा जनशक्ति अभाव रहेको विषय उठे पनि उपलब्ध जनशक्तिको उचित व्यवस्थापन गरी प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने उनले बताए।
ओपीडी सेवा नागरिकका लागि सहज र सर्वसुलभ बनाउनुपर्नेमा जोड दिँदै उनले अस्पतालबाट नागरिकलाई उपलब्ध गराइने निःशुल्क औषधिको आम्दानी तथा खर्चको विवरण पारदर्शी रूपमा उपलब्ध गराउन पनि निर्देशन दिएका छन्।
ल्याब सेवाबारे सेवाग्राहीबाट धेरै गुनासो आएको उल्लेख गर्दै अधिकारीले ल्याबमा नमुना प्राप्त गर्ने समय र रिपोर्ट उपलब्ध गराउने अवधि स्पष्ट रूपमा उल्लेख गरी सेवाग्राहीले देख्ने गरी ल्याबको अगाडि सूचना टाँस्न निर्देशन दिएका छन्।
अनुगमन तथा छलफलका क्रममा अस्पतालमा उपलब्ध सामग्री तथा उपकरणको प्रयोग कम भइरहेको विषयसमेत उठेको थियो। अस्पतालमा विभिन्न समस्या रहेको उल्लेख गर्दै उपलब्ध सामग्री तथा उपकरणको उचित र अधिकतम उपयोग गर्नुपर्नेमा उनले जोड दिए।
रेडियोलोजी सेवामा प्रयोग हुँदै आएको मेसिन पुरानो भएको र मर्मतसमेत हुन नसकेको विषयमा पनि छलफल भएको थियो। अस्पतालमा दुईवटा रेडियोलोजी मेसिन रहे पनि एउटा मात्र सञ्चालनमा रहेको उनले जानकारी दिए । त्यस्तै, एक्सरे मेसिनको अवस्था पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले भने ।
उपलब्ध मेसिनलाई आवश्यकताअनुसार अपडेटिङ गर्नुपर्ने र त्यसो गर्न सम्भव नभए अनिवार्य रूपमा नयाँ मेसिनले प्रतिस्थापन गर्नुपर्ने प्रजिअ अधिकारीले बताए। यसका लागि प्रदेश सरकारसँग समन्वय गरेर आवश्यक प्रक्रिया अगाडि बढाउन उनले निर्देशन दिए।
छलफलका क्रममा अस्पताल प्रशासनले सरसफाइमा विशेष ध्यान दिने प्रतिबद्धता जनाएको पनि अधिकारीले बताए। अस्पतालमा रहेका उपकरण तथा सामग्रीको उचित उपयोग गर्दै जनशक्ति व्यवस्थापन र सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
उक्त अनुगमनमा प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट डा. राहुल मण्डल, सूचना अधिकारी केविन्द्र प्रसाद यादव, लेखा प्रमुख रामबालक प्रसाद यादव, जेनजी एन्ड युथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेलगायतको उपस्थिति रहेको थियो।



