बढ्दो शहरीकरण खेतीयोग्य जग्गा घडेरीमा परिणत हुदै जानुले मधेस प्रदेशमा धानको उत्पादनमा कमि हुदै गएको छ ।
पछिल्लो पाँच बर्षको अवधिमा मधेसमा धान उत्पादनको कमि हुदै गएको छ । बितेको आर्थिक बर्ष भन्दा चालु आर्थिक बर्ष ०८०÷८१ मा पनि धानको उत्पादन मधेसमा कमि भएको छ । यसका साथै खेतीयोग्य जग्गा पनि कमि हुदै गएको छ ।
खेतीयोग्य जग्गाहरु प्लटिङ हुन थालेको तथा सिँचाईको अभावमा मधेस प्रदेशमा लगातार धानको उत्पादनमा कमि हुदै आएको छ ।
धान उत्पादनको लागि राम्रो मानिएको मधेस प्रदेशमा पछिल्लो समय उचित सिँचाईको ब्यवस्था नभएका कारणले किसानहरु आकाशे पानीको भरमा खेती गर्दै आएका छन ।
यसरी आकाशे पानी समयमा नपर्दा धानको उत्पादनमा लगातार रुपमा कमि हुदै आएको छ ।यस्तै खेतीयोग्य जग्गाहरु प्लटिङ भई घडेरीमा परिणत हुदै गएका कारणले पनि खेतीयोग्य जग्गाहरु घट्दा पनि कृषि उत्पादनमा कमि हुदै गएको छ ।
यस्तै सिँचाई मल खादको समस्याले पनि किसानहरु पिडीत भएका कारणले धान उत्पादनमा कमि भएको पर्सा सखुवा प्रसौनी गाउँपालिकाका किसान शिव कुमार साहले बताए ।
मधेस प्रदेशको भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दिएको जानकारी अनुसार गत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षमा खेतीयोग्य जग्गा घटनुका साथै धान उत्पादनमा पनि कमि भएको छ ।
बितेको आव ०७९÷८० मा मधेसको चार लाख ३ सय ६ हेक्टर क्षेत्रफलमा धानको खेती गरिएकोमा धान उत्पादन १५ लाख २३ हजार ८ सय २५ दशमलव ८७ मेट्रिक टन भएको थियो ।
जबकि चालु आर्थिक बर्ष ०८०÷८१ मा भने यस प्रदेशमा ३ लाख ६२ हजार ३ सय ४४ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा उत्पादन भने १२ लाख ३७ हजार ४ सय १ दशमलव ९ मेट्रिक टन भएको थियो ।
यस आँकडा अनुसार धान र खेतीयोग्य जग्गा दुबैको कमि हुदै गएको देखिन्छ ।यस प्रदेशमा सिँचाईको अभावमा बिशेष गरि धान उत्पादनमा कमि भएको मन्त्रालयका प्रबक्ता रोशन कुमार मेहताले जानकारी दिए ।
मधेस प्रदेशमा पछिल्लो समय रोड र नयाँ सडकहरुको बिकाश तिब्र रुपमा भईरहेको छ ।तिनवटै तहका सरकारले बिशेष गरि सडक बनाउनमा नै बजेट लगानी गरिरहेको देखिन्छ ।
सडकको बिकाश हुदा त्यस आसपास रहेका खेतीयोग्य जग्गाहरुमा प्लटिङ गर्ने काम भएर खेतहरु घडेरीमा परिणत हुनुले पनि उत्पादनमा लागातार कमि हुदै आएको कृषि बिकाश निर्देशनालय जनकपुरधाम धनुषाका बाली बिकाश अधिकृत मिथलेश साहको भनाई छ ।
मधेस प्रदेशका आठ वटै जिल्लाहरु कृषि तथा धान उत्पादनको लागि राम्रो मानिन्छ ।तर पछिल्लो समय समयमा पानी नपर्दा यस प्रदेशका किसानहरुले उचित सिँचाई पाउन सकेका छैनन ।
जसले गर्दा बर्षेनी धानको उत्पादनमा कमि हुदै गएको छ । बढदो जग्गा प्लटिङका कारण खेतहरु घडेरीमा परिणत भएकाले पनि कृषि उत्पादनमा कमि हुदै गएको छ ।

