माछामासुको मूल्य निर्धारण गर्न अदालतले दिएको आदेश कार्यान्वय गराउन पर्साका प्रमुख जिल्ला अधिकारीलाई वीरगञ्जमा ज्ञापनपत्र बुझाइएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च पर्साले अदालतको आदेश कार्यान्वयन गराउन पर्साका प्रजिअ दिनेश सागर भुसाललाई बिहीवार ज्ञापन पत्र बुझाएको हो ।
मापदण्ड बेगर खुल्ला रुपमा बाटोको छेउ,खुल्ला नालाको छेउमा माछा मासु बिक्री बितरण भैरहेको भन्दै मञ्चले वीरगञ्ज महानगर बिरुद्ध फिराद पत्र दायर गराएको थियो ।फिराद पत्रको सुनुवाई गर्दै उच्च अदालत जनकपुर को अस्थायी इजलास वीरगञ्जले ०७६ साल असोज १० गते अन्तरिम आदेश जारी गरेको थियो ।
अदालतले ०७६ चैत ३ गते वीरगञ्ज महानगर बिरुद्ध फैसला समेत गरेको थियो ।तर अदालतले गरेका फैसला अहिले चार बर्ष बितिसक्दा समेत कार्यान्वयन नभएको भन्दै मञ्चले प्रजिअलाई ध्यानाकर्षण गराएको हो ।वीरगञ्ज महानगरले माछामासु पसलहरुको गलत कार्य रोक्न सामान्य अनुगमन बाहेक केही नगरेको आरोप रहेको छ ।
महानगरले बधशाला निर्माण गर्न पहल समेत नभएको,माछा मासुको मूल्य निर्धारण गर्न समिति समेत निर्माण नगरेको अवस्था रहेको छ ।
यसले गर्दा मनलागी मूल्यमा बिक्रि बितरण हुन दिएकोले बाध्य भएर ध्यानार्षण गराउनु परेको ध्यानाकर्षण पत्रमा लेखिएको छ ।मञ्चका पर्सा अध्यक्ष सुनिल श्रेष्ठ सहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा वीरगञ्जका पानी उधोगहरुले जथाभावी बढि मूल्य निर्धारण गर्ने गरेकोले त्यसलाई नियन्त्रण गर्न पनि भनिएको छ ।
ज्ञापन पत्र बुझाउन गएको टोलीमा उपभोक्ता हित सँरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष अजय अधिकारीको विशेष सहभागिता रहेको थियो ।

