वीरगञ्ज महानगरद्वारा दुई अर्ब उनानब्बे करोड अडचालीस लाखको बजेट प्रस्ताव

साझेदारी दैनिक
276 पाठक संख्या

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । १५ औँ नगर सभा मार्फत शनिबार महानगरले बजेट सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ६२ करोडले घटेर आएको छ । आगामी आर्थिक वर्षका लागि महानगरले दुई अर्ब ८९ करोड ४८ लाखको बजेट सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षमा महानगरको बजेट संशोधित सहित तीन अर्ब ५१ करोड रहेको छ । महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सुरु भएको नगरसभामा बजेट प्रस्तुत गर्दै उप–प्रमुख इम्तियाज आलमले चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ पचिस प्रतिशत रोक्का रहेको जनाएका हुन्।

संघीय सरकारको राजश्व असुलीमा आएको सङ्कुचनको कारण राजश्व बाँडफाँड घट्न गएको,घर जग्गा कारोबारमा आएको मन्दीको कारणबाट घरजग्गा रजिष्ट्रेशन आयस्रोत समेत घट्न जाँदा आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउनु परेको बताए ।

यस्तै प्रदेश सरकारवाट सशर्त अनुदान र बिशेष अनुदानको रुपमा थप अनुदान रकम प्राप्त हुन नसक्दा समग्रमा राजश्व परिचालन लक्ष्य अनुरुप हुन नसक्दा पनि काम गर्न कठिनाई आएको उनले बताए । 

चालु आर्थिक वर्षको तुलनामा बजेट घटेर आएको भए पनि बजेटमा आगामी आर्थिक वर्षमा वीरगंजलाई सुन्दर,समुन्नत र समृद्ध बनाउने गरी विशेष कार्यक्रम समेटेको छ ।

नगर सभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च तर्फ दुई अर्ब चार करोड ६६ लाख अर्थात ७०.७ प्रतिशत छुट्याइएको छ । पूँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८ हजार अर्थात २८.१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि महानगरले खर्च व्यहोर्ने श्रोतहरूमध्ये आन्तरिक राजश्वबाट ७९ करोड ७५ लाख,नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब २७ करोड ९० लाख  लाख,सङ्घीय राजश्व बाँडफाँटबाट २६ करोड ८० लाख रहेको छ ।

त्यसैगरी प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजश्व बाडफाडबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको छ । 

Leave a review