शिक्षकको माग गर्दै ओली सरकार विरुद्ध रौतहटका विद्यार्थी सडकमा

साझेदारी दैनिक
212 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव/ पर्याप्त शिक्षकको माग गर्दै रौतहटका विद्यार्थीहरु सडकमा उत्रेका छन्।

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चा आबद्ध विद्यार्थिहरु सडकमा उत्रेका हुन्। विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै बुधबार रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरेको छ ।

मधेसमा विद्यार्थीको अनुपातमा शिक्षक नभएको भन्दै विद्यार्थी संख्याको आधारमा सरकारले शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै विद्यार्थी मोर्चाको नेतृत्वमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्।

विधार्थी मोर्चाका अध्यक्ष विवेक साहको नेतृत्वमा गौरमा प्रदर्शन भएको हो। प्रदर्शनमा जिल्लाका विभिन्न सामुदायिक विद्यालयका हजारौ हजार विद्यार्थीसहित शिक्षक,अभिभावकका साथै स्थानीयको समेत सहभागिता रहेको थियो ।

विद्यार्थीको अनुपातमा तहगत र विषयगत शिक्षकको व्यवस्था गर्न सरकारसँग पटक पटक माग गर्दा समेत कुनै सुनुवाइ नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको विद्यार्थी मोर्चाका केन्द्रिय अध्यक्ष विवेक साहले बताएका हुन् ।

पहाडी जिल्लाहरुमा सरकारले पर्याप्त शिक्षकको व्यवस्था गरेपनि मधेसको जिल्लामा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरी मधेशसंग चरम विभेद गरेकोले केपी शर्मा ओली सरकार विरुद्ध आफुहरु आन्दोलित भएको अध्यक्ष साहको भनाई रहेको छ।

मधेशको शिक्षालाई सरकारले योजनाबद्ध तरिकाले तहसनहस गर्न खोजेको समेत उनले आरोप लगाएका छन्।

पहाडी जिल्लाहरुमा १८ विधार्थीमा १ शिक्षकको दरले शिक्षक दरबन्दी बितरण गरेको ओली सरकारले मधेसमा १०० विधार्थीको अनुपातमा १ शिक्षकको ब्यवस्था गरेको आरोप उनीहरुको छ ।

जसको कारण मधेसमा शिक्षक दरबन्दीको अभावमा एउटा कक्षा कोठामा १०० देखि ३०० सम्म विद्यार्थी कोचेर पठनपाठन गर्न बाध्य रहेको साहले बताए ।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री विद्या भट्टराई मधेस विरोधी भएको आरोप समेत लगाए । प्रधानमन्त्री र शिक्षामन्त्रीको विरोधमा नाराबाजी गर्दै उनीहरूले विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था कहिले हुने भन्दै प्रश्न समेत गरेका थिए ।

आजपा मधेस प्रदेश कमिटीले समेत शिक्षकको माग गर्दै आम शैक्षिक हडतालका साथै आन्दोलनका बिभिन्न कार्यक्रम घोषणा गरेको छ । मधेसमा कार्तिक ५ गते देखी शैक्षिक आम हड्तालको घोषणा गरेको आजपाले त्यस अघि आन्दोलनका बिभिन्न कार्यक्रम गरिरहेको छ ।

मधेसका बिभिन्न जिल्ला र प्रमुख शहरहरुमा असोज २ गतेदेखी ४ गतेसम्म विद्यार्थीहरुको विशेष प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । संविधान दिवसकै दिन असोज ३ गते संविधानको अन्त्येष्टी यात्रा प्रत्येक जिल्लामा निकाल्ने र वीरगंज,जनकपुरमा विशेष प्रदर्शन गर्ने कार्यक्रम रहेको आजपाले जनाएको छ ।

यसैगरी असोज ९ गते देखी २० गतेसम्म प्रत्येक जिल्लामा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्थाको बिषयमा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गर्ने र कार्तिक ५ गतेदेखी आम शैक्षिक हडताल गर्ने घोषणा आजपाले यस अघि नै गरिसकेको छ ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री ओलीले साम्प्रदायिक गतिविधिमा लागेको गम्भीर आरोप लगाएका छन् । मधेस विरोधी साम्प्रदायिक गतिविधिमा लागेका प्रधानमन्त्री ओलीको कदमको साहले भत्र्सना समेत गरेका छन् ।

आजपा अध्यक्ष साहले आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै प्रधानमन्त्री ओलीको मधेस विरोधी साम्प्रदायिक गतिविधिको विरोध गरेका छन् । सरकार आफैले बनाएको बिधार्थी–शिक्षक अनुपात सम्बन्धी मापदण्ड विपरीत सरकारले मधेसी विधार्थीको भविष्य बर्वाद गरिरहेको आरोप साहको रहेको छ ।

विधार्थी अनुपातमा शिक्षकको व्यवस्था हुनुपर्ने माग गर्दै आन्दोलनरत आम विद्यार्थी मोर्चाको माग सम्बोधन गर्नुको साटो प्रधानमन्त्री ओली सरकारले उल्टै राणाकालीन शैलीमा तर्साउने हर्कत गरिरहेको साहले जनाएका छन् ।

ओली सरकारले राणाकालीन शैलीमा तर्साउने र साम्प्रदायिक गतिविधि नसच्याए बंगलादेश जस्तै उनको सरकार ढाल्न विधार्थीहरु सडकमा आउँने र त्यसलाई सरकारले रोक्न नसक्ने अध्यक्ष साहले चेतावनी दिए ।

शिक्षकको माग गर्दै सडक आन्दोलनमा उत्रिएका विधार्थी,शिक्षक,अभिभावक,स्थानीय लगायत सबैलाई धन्यवाद दिदै साहले यथासिघ्र विधार्थी अनुपातमा शिक्षकको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

Leave a review

This will close in 0 seconds