जीतपुरसिमरा चौथो अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगितामा उपाधीका लागि सिमरा र काठमाडौं आमने सामने भएका छन्।
सिमरा रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा जीत हात पार्दै आयोजक टोली सिमरा भेट्रान क्लब र सरस्वती नगर भेट्रान क्लब काठमाडौं उपाधि नजिक पुगेका हुन्। सिमराले पहिलो सेमिफाइनल खेलमा पाहुना टोली क्लिभ हाउस भेट्रान फूटबल क्लब कोलकत्तालाई २–० ले पराजित गरेको हो ।
आयोजकको जीतमा दुवै गोल रमेश गुरुङले गरेका थिए। उनी खेलको प्लेयर अफ दि म्याच घोषित भए । दोस्रो खेलमा सरस्वती नगर भेट्रान काठमाडौंले पोखराको ए.बि.सी. भेट्रान क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको हो ।
काठमाडौंका लागि अनल आचार्य,जगत लामा,महेन्द्र खवास र देवराज नेपालीले बललाई जाली चुमाएका हुन्।
सरोज थापाको प्रहार क्रसबारबाट बाहिरियो ।पोखराका लागि भने संजयकुमार गुरुङ र विश्वलाल श्रेष्ठ मात्रै गोल गर्न सफल भए । विकर्ण श्रेष्ठ र निलेन्द्र देवानको प्रहार काठमाडौंका गोलरक्षक शम्भु श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।
श्रेष्ठ खेलको प्लेयर अफ दि म्याच घोषित भए ।प्रतियोगिताको फाइनल खेल शनिबार ४ बजे सिमरा रंगशालामा सुरु हुनेछ । असोज १ गतेदेखि सुरु भएको प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो ।


