जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला गर्ने पत्रकार महासंघको निर्णय

साझेदारी दैनिक
295 पाठक संख्या

काठमाण्डौं : नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनपछि जिल्ला तथा प्रदेश अध्यक्षहरुको यही असोज १९ गते राष्ट्रिय भेला गर्ने नेपाल पत्रकार महासंघले निर्णय गरेको छ।

महासंघका महासचिव शिव पुरीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै हाल उत्पन्न विशेष परिस्थितिको कारण भेला गर्ने निर्णय महासंघको बैठकले गरेको जनाएका हुन्।

२०८१ जेठ २६ गते, असार २२ र असोज ५ गते घोषण गरिएका तीनवटा निर्वाचन तोकिएको मितिमा हुन नसक्ने दुःखद् परिस्थितिको सिर्जना भएको सो विज्ञप्तिमा लेखिएको छ। यो विषम परिस्थितिमा महासंघका अध्यक्ष विपुल पोखे्रलले २०८१ भदौ २४ गते पदबाट राजीनामा दिएको एवम् वरिष्ट उपाध्यक्ष रमेश विष्टले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेको सो विज्ञप्तिमा लेखिएको छ।

असोज १२ गतेका लागि निर्वाचन मिति घोषणा गरिएको थियो । यसैबीचमा कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि अकस्मात राजीनामा दिएपछि झनै जटिल मोडमा आइपुगेका छौ, विज्ञप्तिमा लेखिएको छ। असोज १२ गते तोकिएको निर्वाचन पनि हुन नसक्ने परिस्थिति सिर्जना भएको छ।

मतदाता नामावली सम्बन्धी विवाद र मतभेदकै बीचमा महासंघका ५३ शाखाका अध्यक्षहरूले विवाद निरुपणका लागि राष्ट्रिय भेलाको माग गर्दै केन्द्रीय समितिलाई ज्ञापनपत्र बुझाएका छन् । यही सन्दर्भमा २०८१ असोज ९ गते केन्द्रीय समिति,प्रदेश समिति अध्यक्ष र जिल्ला अध्यक्षहरूको परामर्श भेला भौतिक तथा भर्चुअल माध्यमबाट सम्पन्न भएको सो विज्ञप्तिमा जनाइएको छ।

परामर्श भेलापछि कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा सम्पन्न केन्द्रीय समितिको बैठकले जिल्ला/प्रदेश अध्यक्षहरूको सल्लाह/सुझाव परामर्शलाई समेत दृष्टिगत गरी नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७५) को धारा ३५ को उपधारा ७ अनुसार यही असोज १९ गतेका दिन जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला गर्ने निर्णय गरेको सो विज्ञप्तिमा जनाइएको छ।

भेलाको स्थान यथाशीघ्र जानकारी गराइने समेत विज्ञप्तिमा बताइएको छ।

त्यस्तै सदस्यतामा देखिएको विवादका सन्दर्भमा २७ औँ महाधिवेशनबाट पारित शुद्धीकरण मापदण्डलाई आधार मानी केन्द्रीय समितिलाई दिशानिर्देशसहित विवाद समाधानमा सहजीकरण गर्न महासंघका पूर्वसभापति डा. सुरेश आचार्यको संयोजकत्वमा पूर्वसभापतिद्वय तारानाथ दाहाल,विष्णु निष्ठुरी तथा पूर्वअध्यक्षहरू धर्मेन्द्र झा,शिव गाउँले,डा. महेन्द्र विष्ट र गोविन्द आचार्यलाई आग्रह गर्ने निर्णय गरिएको जानकारी दिइएको छ।

बैठकले अध्यक्ष विपुल पोख्रेल र कार्यवाहक अध्यक्ष रमेश विष्टले दिएको राजीनामालाई अनुमोदन गर्दै उहाँहरूले महासंघमा दिनुभएको अमूल्य योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको प्रेस विज्ञप्ति मार्फत जनाइएको छ।

Leave a review

This will close in 0 seconds