सिमरा : बारामा छुट्टा छुटुटै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको भएको छ भने दुई जना गम्भिर घाईते भएका छन ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित वीरगञ्ज–पथलैया सडक खण्डमा पर्ने शुभलाभ ट्रेडर्सको अगाडी एक ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
अर्का एक जना गम्भिर घाईते भएका छन । मृत्यु हुनेमा बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय उदितनारायण झा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उक्त दुर्घटनामा परी सोही ठाउँ बस्ने १८ वर्षीय उत्पल आचार्य गम्भीर घाईते भएका छन्। आचार्यको दाहिने खुट्टा र टाउकोमा चोट लागेको छ।
उनीहरुलाई उपचारको लागि एल.एस.न्युरो अस्पताल परवानीपुरमा लगिएको छ। झाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। आचार्यको अस्पतालमा उपचार भईरहेको छ। उनको अवस्था गम्भीर रहेको छ।
पथलैयाबाट वीरगञ्ज तर्फ जादै गरेको ना ६ ख २८९५ नम्बरको ट्रकले विपरित दिशा बाट आउदै गरेको ना ४० प४१९५ नम्बरको मोटरसाईकलाई ठक्कर दिदा सो दुर्घटना भएको हो।
ठक्कर दिने ट्रक चालक,सह–चालक प्रहरीको नियन्त्रणमा रहेको छ। ट्रक चालक धादिङ गजुरी गाउँपालिका वडा नम्बर .६ पोखरी खोला बस्ने ३६ वर्षीय सन्दिप भुजेल र सोही स्थान बस्ने सह–चालक २१ वर्षीय सुशिल थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन ।
यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित अमलेखगञ्जमा आइतबार राती नै भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको बसले अमलेखगञ्जको होटल क्विकट्वेन्टी अगाडिको सडकमा प्र.०२–०३–०१३प ३२३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन । जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठले दुर्घटनालगत्तै प्रहरी र स्थानीयको सहयोगमा मृतक र घाइतेलाई उद्धार गरेर हेटौडा अस्पताल पठाइएको बताए । मोटरसाइकललाई ठक्कर दिई फरार भएको बसलाई भने प्रहरीले रातोमाटेबाट नियन्त्रणमा लिएको छ ।

