स्थानीय तह उपनिर्वाचन २०८१ को निर्वाचन कार्यक्रम आयोगद्वारा स्वीकृत

साझेदारी दैनिक
308 पाठक संख्या

काठमाण्डौं : आउदो मंसिर १६ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ।

निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद सापकोटाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन्।

निर्वाचन कार्यक्रम अनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ। सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ।

उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। सोही दिनको दिउँसो ३ बजे उपरान्त मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो तीन बजेदेखि पाँच बजे सम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।

निर्वाचन कार्यक्रम अनुसार मिति २०८१ मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने सो विज्ञप्तिमा जनाइएको छ।

मतदान शुरु हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात मंसिर १३ गते राति १२ बजे पछि प्रचारप्रसार निषेध अवधि लागू हुने उपनिर्वाचनको कार्यतालिका रहेको छ।

Leave a review