सातदिने धार्मिक महोत्सवमा जुट्दै हजारौँ श्रद्धालु : सुरक्षा व्यवस्थापनबारे सरोकारवालासंग छलफल

साझेदारी डेलि
68 पाठक संख्या

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहामा निर्माणाधीन श्रीकृष्ण मन्दिरको उद्घाटनसँगै आयोजना हुन लागेको अन्तर्राष्ट्रिय धार्मिक महामहोत्सवमा ठूलो संख्यामा श्रद्धालु सहभागी हुने भएपछि आयोजकले सुरक्षा, यातायात र आवास व्यवस्थापनलाई प्राथमिकता दिएको छ।

यही मंसिर १० देखि १६ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा दैनिक करिब १५ हजार भक्तजन आउने अनुमानसहित आवश्यक तयारी अघि बढाइएको हो।

महोत्सवलाई शान्तिपुर्ण र व्यवस्थित बनाउन आइतबार आयोजक समितिले स्थानीय जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायका अधिकारीसंग छलफल गरेको छ। छलफलमा भक्तजनको आवागमन सहज बनाउने, सवारीसाधन पार्किङको व्यवस्था मिलाउने, भीड नियन्त्रण गर्ने तथा महोत्सव अवधिभर शान्ति सुरक्षा कायम राख्ने विषयमा योजना बनाइएको छ।

छलफलमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी, प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक सरोज निरौला, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्ट, वडाध्यक्ष भोजबहादुर खत्री, धनबहादुर श्रेष्ठ तथा युवा त्रिलोक विक्रम शाहलगायत सहभागी थिए।

करिब ६ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको विशाल श्रीकृष्ण मन्दिरलाई ‘बाबाजी लक्ष्मीधाम’ का रूपमा स्थापना गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो। महोत्सव मूल समारोह समितिका संयोजक जनार्दनजी शास्त्रीका अनुसार मंसिर १० गते बिहान कलश यात्रासहित धार्मिक कार्यक्रम सुरु हुनेछ। त्यसै दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा मन्दिर उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

महोत्वमा धर्मगुरु आचार्य श्रीकृष्णमणिजी महाराजश्री र सूर्यनारायणदासजी महाराजश्रीबाट आशीर्वचन प्रदान गरिने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ। भारतका श्री १०८ नवतनपुरी धाम, श्री १०८ महामंगलपुरी धाम र श्री १०८ पद्मावतीपुरी धामका महन्त, साधुसन्त, पण्डित तथा विदुषीहरूको समेत सहभागिता रहनेछ।

सात दिनसम्म चल्ने महोत्सवमा श्रीमत्तारतम सागरको १२५ पारायण वाचन, चौरासी पूजा, व्रतबन्धलगायतका धार्मिक अनुष्ठान सञ्चालन हुनेछन्। महोत्सवमा सहभागी हुने श्रद्धालुको बसोबासका लागि स्थानीयस्तरमै व्यवस्था मिलाइएको समारोह समितिका महासचिव दीपकप्रसाद भट्टले बताए ।

उनको अनुसार दैनिक करिब तीन हजार भक्तजनलाई स्थानीय विद्यालय, मन्दिर, सहकारी संस्थाका सभाहल तथा स्थानीय भक्तजनका निजी आवासमा निःशुल्क बसोबासको प्रबन्ध गरिएको छ ।

Leave a review