सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहामा नवनिर्मित श्रीकृष्ण प्रणामी मन्दिरको उद्घाटनसँगै आयोजना हुन लागेको १२५ पाठपारायण तथा अन्तर्राष्ट्रिय धर्म महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।
आउदो मंसिर १० देखि १६ गतेसम्म सञ्चालन हुने श्रीकृष्ण प्रणामी धर्म अन्तर्राष्ट्रिय महोत्सव २०८३ मा नेपाल र भारतका धर्मगुरु, साधुसन्त, विद्वान्,सुन्दरसाथ तथा सर्वसाधारण गरी दैनिक करिब १५ हजार भक्तजन सहभागी हुने आयोजकले अपेक्षा गरेको छ।
महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी मूल समारोह समितिले आज शनिबार आयोजित दिउसो पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ । समारोह मुल समितिका संयोजक जनार्दन शास्त्रीका अनुसार नवनिर्मित मन्दिरको समुद्घाटनतर्प नवनिर्मित मन्दिरको कलश अनावरण श्रीकृष्ण प्रणामी धर्ममा धार्माचार्या श्री१०८ श्रीकृष्णमणीजी महाराजजीले गर्नुहुने छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेले मञ्च कार्यक्रमको समुद्घाटन गर्ने कार्यक्रम तय भएको बताएका छन।
उनको अनुसार धार्मिक गतिविधिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवलाई धार्मिक, सांस्कृतिक र सामाजिक सेवाको साझा अभियानका रूपमा अघि बढाइएको आयोजकले बताए । मन्दिरलाई प्रस्तावित ‘बाबाजी लक्ष्मी धाम’का रूपमा विकास गर्ने लक्ष्यसहित महोत्सव आयोजना हुन लागेको मन्दिरकी संरक्षक समेत रहेकी विदुषी माताजी उषा घिमिरेले बताउनु भयो ।
सात दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब डेढ करोड खर्च हुने अनुमान गरिएको महोत्सव मुल समारोह समितिका महासचिव दीपकप्रसाद भट्टले पत्रकार सम्मेलनमा बताएका हुन । महोत्सवका विभिन्न धार्मिक तथा सेवामूलक गतिविधि सञ्चालनका लागि पाँच करोड रुपैयाँ आर्थिक सहयोग संकलन गर्ने लक्ष्यसमेत राखिएको संयोजक महाराजजीले जानकारी दिनुभयो।
आयोजकका अनुसार महोत्सवबाट संकलित रकम केवल धार्मिक कार्यक्रम सञ्चालनमा मात्र सीमित रहने छैन। महोत्सवको खर्च कटाएर बचत हुने रकमलाई दीर्घकालीन सामाजिक तथा सेवामूलक परियोजनामा लगानी गर्ने योजना बनाइएको छ। त्यसअन्तर्गत वृद्धाश्रम सञ्चालन, तारतम गुरुकुल स्थापना तथा अन्य सेवाकीय प्रकल्प सञ्चालनका लागि आवश्यक जग्गा खरिद गर्ने लक्ष्य राखिएको छ।
पत्रकार सम्मेलनमा निजानन्द धाम नजरपुरका गादीपति १०८ सुरेन्द्र महाराजजी,मन्दिर संरक्षक विदुषी उषा घिमीरे,पडित पुरुषोतम शास्ती, घनश्याम शास्त्री, शास्त्री यमनाथ भट्ट, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष भोजबहादुर खत्री लगायतको उपस्थिति रहेको थियो ।
सात दिनसम्म धार्मिक अनुष्ठान र सांस्कृतिक कार्यक्रम महोत्सवको प्रमुख आकर्षणका रूपमा नवनिर्मित श्रीकृष्ण प्रणामी मन्दिरको कलश अनावरण तथा समुद्घाटन, श्री १२५ तारतम सागर ब्रह्मवाणी पाठ पारायण र श्रीमद्भागवत कथा ज्ञान महायज्ञ आयोजना गरिनेछ। धार्मिक आस्था र परम्परालाई केन्द्रमा राखेर विभिन्न धार्मिक प्रवचन, पाठपारायण तथा सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।
महोत्सवको पहिलो दिन मंसिर १० गते भव्य कलश यात्रासहित धार्मिक कार्यक्रमको शुभारम्भ गरिनेछ। कलश यात्रामा स्थानीय श्रद्धालु, महिला, युवा तथा विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ। त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा मञ्च कार्यक्रमको समुद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
मंसिर १० देखि १६ गतेसम्म सञ्चालन हुने कार्यक्रममा श्री १२५ तारतम सागर ब्रह्मवाणीको पाठपारायण विशेष आकर्षण रहनेछ। यसका साथै श्रीमद्भागवत कथा ज्ञान महायज्ञमार्फत धार्मिक प्रवचन तथा आध्यात्मिक ज्ञान प्रवाह गरिनेछ। नेपाल र भारतका विभिन्न स्थानबाट आउने धर्मगुरु, सन्तमहात्मा तथा विद्वान्हरूको सहभागिताले महोत्सवलाई अन्तर्राष्ट्रिय स्वरूप प्रदान गर्ने आयोजकको विश्वास छ।
भक्तजनको आवागमन र व्यवस्थापनमा विशेष तयारी
महोत्सवमा सहभागी हुन बारा, पर्सा, रौतहट, सर्लाही, मकवानपुरलगायत देशका सातै प्रदेशका विभिन्न जिल्लाका तथा र भारतबाट समेत भक्तजन आउने अपेक्षा गरिएको छ। दैनिक करिब १५ हजार जनाको उपस्थिति हुन सक्ने अनुमानका आधारमा आयोजकले खानपिन,बसोबास तथा अन्य आवश्यक व्यवस्थापन मिलाएको जनाएको छ।
बाहिरबाट आउने श्रद्धालु तथा धर्मावलम्बीलाई महोत्सव अवधिभर सहज रूपमा सहभागी गराउन आवास र भोजनको व्यवस्था मिलाइएको मुल समितिका महासचिव भट्टले जानकारी दिनुभयो। ठूलो संख्यामा भक्तजनको उपस्थिति हुने भएकाले कार्यक्रमस्थलको व्यवस्थापन, धार्मिक अनुष्ठान सञ्चालन तथा आगन्तुकलाई आवश्यक सहयोग पुर्याउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
महोत्सवलाई सफल बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, विभिन्न सामाजिक तथा धार्मिक संघसंस्था र स्थानीय बासिन्दासँग समन्वय गरिएको आयोजकको भनाइ छ। ठूलो धार्मिक जमघट हुने भएकाले शान्ति सुरक्षा, सरसफाइ, यातायात व्यवस्थापन र अनुशासित सहभागितालाई विशेष महत्व दिइएको छ।
महोत्सव अवधिभर मासु तथा मदिरा बिक्रीमा रोकः
यसैबीच, धार्मिक महोत्सवलाई शान्त, स्वच्छ र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिका–४ को वडा कार्यालयले मंसिर १०देखि १६ गतेसम्म मन्दिर आसपासको क्षेत्रमा मासु तथा मदिराजन्य पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाएको छ।
वडा कार्यालयको निर्णयअनुसार महोत्सव सञ्चालन हुने अवधिभर सम्बन्धित क्षेत्रका व्यवसायी तथा सर्वसाधारणले उक्त व्यवस्थाको पालना गर्नुपर्नेछ। धार्मिक कार्यक्रमको पवित्रता कायम राख्नुका साथै बाहिरबाट आउने श्रद्धालुहरूलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको हो।
स्थानीयस्तरमा धार्मिक तथा सामाजिक गतिविधिको केन्द्रका रूपमा विकास हुँदै गएको औराहामा आयोजना हुन लागेको यस महोत्सवले क्षेत्रको धार्मिक पहिचान विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। मन्दिर उद्घाटनलाई एउटा औपचारिक कार्यक्रमका रूपमा मात्र नभई भविष्यमा धार्मिक अध्ययन, आध्यात्मिक गतिविधि र सामाजिक सेवाका कामलाई विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्ने आयोजकको योजना छ।
आयोजकले महोत्सवमा सहभागी हुन सम्पूर्ण धर्मावलम्बी, श्रद्धालु तथा सर्वसाधारणलाई निमन्त्रणा गर्दै कार्यक्रमलाई सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोगका लागि आग्रह गरेको छ।



