रौतहटमा सहकर्मीलाई अपमानजनक गाली गर्ने प्रहरी हवल्दार महतो निलम्बित

साझेदारी डेलि
38 पाठक संख्या

रौतहट । जिल्ला प्रहरी कार्यालय गौरको सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतो निलम्बनमा परेका छन्। आफ्नै सहकर्मीलाई फोनमा अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि महतोलाई निलम्बन गरिएको हो।

डुमरिया सुरक्षा बेसमा कार्यरत हवल्दार सुरेशप्रसाद यादवलाई आफू प्रहरी नायब निरीक्षक (सई) भएको बताउँदै अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको अडियो सार्वजनिक भएको थियो। उक्त घटनापछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले आइतबार महतोलाई निलम्बन गर्दै विभागीय कारबाही प्रक्रिया अघि बढाएको हो।

घटनाको छानबिनका लागि प्रदेश प्रहरी कार्यालयले शनिबार दुवै प्रहरी कर्मचारीलाई जनकपुर बोलाएर सोधपुछ गरेको थियो। घटनामा प्रयोग भएको भाषा, शब्द र शैलीप्रति गम्भीर ध्यानाकर्षण भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले बताए। दुवैबीच भएको घटनाको कारणबारे अनुसन्धान भइरहेको र अपशब्द प्रयोग गर्ने हवल्दार महतोलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

हवल्दार यादवका १७ वर्षीय छोरा चन्दनकुमार एसईई उत्तीर्ण गरेपछि अध्ययनका लागि राजधानीमा बस्दै आएका थिए। उनी छठ पर्व मनाउन घर आएका बेला दुई दिनअघि सदरमुकाम गौरस्थित घरबाट हराएका थिए। छोराको खोजीका लागि यादवले जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा फोन गरेका थिए।

कन्ट्रोल रुमबाट सञ्चार शाखामा जानकारी गराउन भनिएपछि यादवले पुनः फोन गर्दा सञ्चार शाखामा कार्यरत महतोले ‘जय नेपाल’ नभनेको भन्दै अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको यादवको आरोप छ।घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न मधेश प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको थियो।

Leave a review