रौतहटमा बजार अनुगमन तीव्र,अनुगमन टोली पुग्दा गरुडामा व्यापारीको भयो भागाभाग

साझेदारी दैनिक
406 पाठक संख्या

रौतहट :ओम प्रकाश यादव/ दीपावली,छठ लगायतको चाडपर्वको मौका छोपी हुनसक्ने अखाद्य वस्तु बिक्री,कालाबजारी र महंगीलाई नियन्त्रण गर्ने उद्देश्यले रौतहटमा बजार अनुगमन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहट सहितको संयुक्त टोलीले यतिखेर बजार अनुगमन गर्ने कार्यलाई तीब्रता दिएको हो। जिल्ला प्रशासन कार्यालय रौतहट,घरेलु तथा साना उद्योगको कार्यालय, उद्योग वाणिज्य संघ रौतहट,वाणिज्य उपभोक्ता संरक्षण मञ्च वीरगन्ज,इलाका प्रहरी कार्यालय गरुडा र इलाका प्रशासन कार्यालय गरुडाको संयुक्त टोलीले शुक्रबार गरुडामा बजार अनुगमन गरेको हो। बजार अनुगमन गर्दा व्यापारीहरुको भागाभाग भएको छ।

अनुगमन टोली पुग्ने बितिक्कै कारवाहीमा पर्ने डरले गरुडाका व्यापारीहरु धमाधम सटर बन्द गरेर भागेका हुन्।

टोलीले बिना बिलको सामान बेच्ने एक किराना पसल र एक राइस मिलका सञ्चालकलाई पाँच हजारको दरले जरिवाना गरेको छ।

यसपछि म्याद गुज्रेका सामान बिक्री गर्ने,कालाबजारी गर्ने, कृत्रिम अभाव देखाई चर्को मूल्यमा सामान बिक्री गरी उपभोक्तालाई ठगी गर्ने,मापदण्ड विपरित र बिना दर्ताको पसल सञ्चालन गर्ने व्यापारीहरु धमाधम सटर बन्द गरी भागेको अनुगमनमा सहभागी जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी रामनरेश राय यादवले साझेदारी दैनिकलाई जानकारी दिएका छन्।

कालाबजारी,महंगी,ठगी,दूषित र मिसावट भएका खाद्यपदार्थको विक्री नियन्त्रणका लागि आफूहरु रौतहटको विभिन्न बजारहरुमा संयुक्त अनुगमन गरिरहेको तथा गलत काम गर्नेलाई कारवाही गर्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी यादवले बताए।

खास गरी खानयोग्य वस्तुको जाँच,तौल र मूल्यदेखि लिएर कालोबजारी गर्ने गरी कृत्रिम सङ्कट सिर्जना गर्ने अवस्थाको अनुगमन गरिएको छ। चाडवाडमा मसला,खाद्य सामग्रीसँगै मिठाई, फलफूल र माला जस्ता अति आवश्यक ठानिने वस्तुको बजार भाउ अत्यधिक महँगो हुने उपभोक्ताहरूको अनुभव रहेको छ।

तिहारका बेला अत्यधिक माग हुने खाने मसला लगायतका सामग्रीहरूमा चर्को भाउ बढाउने व्यापारीहरूलाई तत्काल कारबाही गर्न सकिने सरकारी अधिकारीहरूले बताएका छन्।

चाड तिहारसँगै मसला,खाद्य सामग्री तथा मिठाई,फलफूल र माला जस्ता अति आवश्यक ठानिने वस्तुको बजार भाउ अत्यधिक महँगो भएको गुनासो उपभोक्ताहरूको गुनासो छ।

दैनिक उपभोग्य वस्तुहरू अनुगमनमा प्राथमिकतामा पर्ने गरेका छन्।

चाडपर्वका बेला बजारमा दूषित र मिसावटयुक्त खाद्यवस्तु विक्री हुनसक्ने भन्दै सरकारी अधिकारी र अधिकारकर्मीले उपभोक्तालाई त्यस्ता वस्तु किन्दा सचेत हुन आग्रह समेत गरेका छन्।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय रौतहटका नायब सुब्बा राम नरेश साह,प्रमुख प्रशाकिय अधिकृत मनिस झा,घरेलु तथा साना उद्योगको कार्यालय,उद्योग वाणिज्य संघ रौतहट,वाणिज्य उपभोक्ता संरक्षण मञ्च वीरगन्ज,इलाका प्रहरी कार्यालय गरुडा र इलाका प्रशासन कार्यालय गरुडाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Leave a review