प्रेस सेन्टर नेपाल बाराको पाँचौ अधिवेशन तथा साधारण सभाबाट अध्यक्षमा आए यादब

रञ्जन यादव
190 पाठक संख्या

बारा : प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाराको पाँचौ अधिवेशन तथा साधारण सभा सोमबार सिमरामा सम्पन्न भएको छ।

सिमरास्थित होटेल पाराडाईजको सभाहलमा भएको अधिवेशनले पुनः रन्जन यादवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले चयन गरेको छ ।

अधिवेशनले सेन्टर बारा शाखाको उपाध्यक्षमा प्रदीप गौतम,महिला उपाध्यक्षमा प्रियंका सर्राफ,सचिवमा अखिलेशकुमार यादव,सहसचिवमा विशाल सर्राफ र काजल कार्की परियार, कोषाध्यक्षमा शर्मालाल बैठालाई चयन गरेको छ।

यस्तै सदस्यहरूमा अरुण कुशवाहा,पप्पु साह,महेन्द्र सहनी,राकेश चौधरी र बिकाश गुरुङ चयन भएका छन्। सेन्टरका अनुसार तीन सदस्य पछि थप गरिने छ। समितिले आगामी तीन वर्ष सम्म काम गर्ने छ ।

अधिवेशनमा नेकपा माओवादी केन्द्रका बारा जिल्ला इन्चार्ज क्षेत्रबहादुर श्रेष्ठ (अनिल)ले नवनिर्वाचित समितिलाई बधाइ तथा शुभकामना दिए। उनले निरन्तर उत्पीडित र सर्वहारा वर्गको पक्षमा कलम चलाउन सुझाव दिए। रन्जन यादवको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेश ईन्चार्ज गोबिन्द देवकोटाको प्रमुख आतिथ्यतामा अधिवेशन गरिएको हो।

प्रमुख अतिथि देवकोटाले प्रेस सेन्टर नेपाल क्रान्तिकारी पत्रकारहरूको आस्थाको केन्द्र मात्र होइन आम शोषित पीडित,उपेक्षित समुदायको आशा र मुक्तिको केन्द्र भएको धारणा ब्यक्त गरे। जनपक्षीय पत्रकारिताको इतिहासमा प्रेस सेन्टर आजको मूल नेतृत्व भएको उनको जिकिर थियो ।

प्रेस सेन्टरले आफ्नो गौरवपूर्ण इतिहास निर्माण गर्दै त्याग,वीरता र बलिदानको किर्तिमान बनाउँदै आजको अवस्थामा आइपुगेको उनले बताएका थिए। कार्यक्रममा प्रेस सेन्टर नेपालका तर्फबाट नेपाल पत्रकार महासंघ बाराको कार्यसमिति कोषाध्यक्षमा निर्वाचित रन्जन यादव र जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित शर्मालाल बैठा प्रदेशका सचिवमा निर्वाचित दिपक गौतम र केन्द्रिय सदस्यमा निर्वाचित राजु विश्वकर्मालाई सम्मान गरिएको थियो।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल,नेकपा माओवादीका केन्द्रिय सदस्य गिता कंडेल,वैकल्पिक केन्द्रिय सदस्य शिला खनाल,माओवादीका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बराल,कलैया उपमहानगर कमिति अध्यक्ष मुकेश साह,नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा र नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादव लगायतले शुभकामना दिएका थिए। कार्यक्रम संचालन प्रेस सेन्टर नेपाल बाराका उपाध्यक्ष प्रदीप गौतमले संचालन गरेका थिए।

प्रेस सेन्टर नेपाल बाराको ईन्चार्ज तथा केन्द्रिय सदस्य कृष्णउदास खनालले स्वागत गरेका थिए ।

Leave a review

This will close in 0 seconds