सत्ताको दबाब र प्रभावमा मण्डल हत्याको मुख्य अभियुक्तलाई पक्राउ गर्न बारा प्रहरीको आलटाल– रास्वपा सभापति स्वर्णकार

साझेदारी दैनिक
460 पाठक संख्या

कोल्हवी : धीरेन्द्र पनुहर/ राष्ट्रिय स्वतन्त्र पार्टी बाराका सभापति चन्दन स्वर्णकारले सत्ताको दबाब र प्रभावमा मण्डल हत्याको मुख्य अभियुक्तलाई पक्राउ गर्न बारा प्रहरीले आलटाल गरिरहेको आरोप लगाएका छन्।

रास्वपा बाराको कोल्हबी नगरपालिका वडा नम्बर ५ को वडा भेलालाई शनिबार प्रमुख आतिथ्यबाट सम्बोधन गर्दै स्वर्णकारले यस्तो बताएका हुन्। रामवन मन्दिरको प्राङ्गणमा सम्पन्न सो भेलालाई स्वर्णकारले पानसमा बत्तीवालि एक समारोहविच उद्घाटन गरेका हुन्।

उनले कलैया उपमहानगरपालिका वडा नम्बर १ बैंक रोडमा रहेको नव जन्म पुर्नस्थापना केन्द्रमा ३७ वर्षीय धिरेन्द्र भन्ने प्रदिप प्रसाद मण्डलको कुटपिटबाट मृत्यु भएको घटनाका अभियुक्तलाई पक्रन आलटाल गरेको आरोप लगाएका हुन्।

सारजंग थापाको सभापतित्वमा सो भेला सम्पन्न भएको हो। स्वर्णकारले देशमा परिवर्तन ल्याउनको लागि रास्वपाको स्थापना भएको बताए।

अहिलेका ठूला दलका नेताहरु,नेताका कार्यकर्ताहरु तथा नेताको आफन्तहरुको जीवन स्तरमा मात्र परिवर्तन भएको उनको भनाइ थियो। अबको दिनमा सत्ताको मलाइ खाने ती दलका नेताहरूलाई सबक सिकाउनको लागि उपस्थित सम्पूर्णमा उनले आग्रह गरे।

पुराना दलका नेताहरुको काला करतूत र भ्रष्टाचारीहरुको फाइल रास्वपाका राष्ट्रिय सभापति रवि लामिछानेले खोल्न लागेको देखेर दुई ठुला दल मिली विभिन्न बहाना बनाएर रबि लामिछानेलाई अनेक मुद्दामा फसाएको उनको भनाई थियो।

कलैया मण्डल हत्याको मुख्य अभियुक्तलाई अहिले सम्म पनि पक्राउ गर्न नसक्नुमा बारा प्रहरी प्रशासन माथी नै बारा बासीको शंका रहेको उनले बताए।

सो कार्यक्रममा मनोज चौधरी,कृष्ण पन्त,शिवजी खड्का,जिल्ला सचिव रामहरि खरेल लगायतकाले शुभकामना व्यक्त गरे। सन्जु निरालाले कार्यक्रमको सञ्चालन गरेका थिए। कार्यक्रममा स्वागत अर्जुन कार्कीको थियो।

यसैगरी शनिबार नै वडा भेलाबाट नयाँ वडा कार्य समिति समेत सर्वसम्मत चयन भएको छ । अध्यक्षमा सारजंग थापा, उपसभापतिमा मनोज चौधरी,सचिवमा अर्जुन कार्की,सदस्यहरुमा शम्भू बहादुर थापा,सुरेन्द्र चौधरी,राजेश कुमार चौधरी,आकाश चौधरी,महिला सदस्यमा सरस्वती अधिकारी,शुशीला चौधरी लगायतको रहेका छन्।

Leave a review

This will close in 0 seconds