गहवामाईको डोली यात्रा सम्पन्न

रासस
932 पाठक संख्या

वीरगञ्ज (पर्सा) । गहवामाईको निशानसहितको डोली यात्रा हजारौँ दशनार्थीको सहभागितामा सम्पन्न भएको छ ।

वीरगञ्ज महानगर र आसपासका दर्शनार्थीको उपस्थितिमा आज चैते दसैँंको अवसरमा डोली यात्रा निकालिएको हो ।

गहवामाईको धार्मिक अनुष्ठान पूरा गरेपछि माईस्थान सञ्चालन समितिका अध्यक्ष नरेन्द्रकुमार साहलगायत विशिष्ट व्यक्तिको उपस्थितिमा धार्मिक परम्पराअनुसार मन्दिरभित्रबाट डोली यात्रा प्रारम्भ गरिएको थियो ।

मन्दिरका मूल पुरोहित राधेश्यामप्रसाद उपाध्यायले डोली तथा निशान पूजाको सम्पूर्ण धार्मिक परम्पराअनुसारको अनुष्ठान पूरा गरेपछि डोली यात्रा निकालिएको बताउनुभयो ।

“गहवामाईको हिन्दू धार्मिक परम्पराअनुसारको पूजापाठ सुरुआत गर्‍यौँ । पूजापाठसहित सबै प्रक्रिया पूरा गरेपछि मन्दिर प्राङगणबाट डोली यात्रा निकालिएको हो”, उहाँले भन्नुभयो ।

डोली यात्रा गहवामाई मन्दिर प्राङ्गणबाट सुरु भई वीरगञ्जको रोड नं २ हुँदै विर्तामाई मन्दिर,अलखिया मठ,महावीर मन्दिर,घण्टाघर हुँदै गहवामाई मन्दिर प्राङ्गणमा आएर समापन भएको थियो ।

Leave a review

This will close in 0 seconds