रौतहट । ओम प्रकाश यादव/ रौतहटको गरुडा नगरपालिका-४, स्थित श्रीराम सुगर मिलमा श्री श्री १००८ श्री लक्ष्मी नारायण महायज्ञ सुरु भएको छ।
आजदेखि सुरु भएको महायज्ञ ९ दिनसम्म सञ्चालन हुने बताइएको छ। गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद कलवारले आज एक कार्यक्रमबीच महायज्ञको उद्घाटन गरेका छन्।
नगर प्रमुख कलवारले उद्घाटन गरेपश्चात आजदेखि महायज्ञ सुरु भएको हो । यज्ञ सुरुहुनुु भन्दा अघि हिजो भव्य कलश यात्रा निकालिएको थियो।
महायज्ञ उद्घाटन गर्दै नगर प्रमुख कलवारले यस महायज्ञले समाजको एकता र समृद्धिको लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
मानव कल्याण र सबैको शान्तिका लागि आयोजना गरिएको महायज्ञमा भगवानसँग दर्शन गर्न आउने श्रद्धालु भक्तजनले पुण्य प्राप्त गर्ने उनले बताए।
कलश यात्रा र पूजा कार्यक्रमले हाम्रो धार्मिक आस्था र सांस्कृतिक मूल्यलाई अझै मजबुत बनाउने उनले बताए ।
समाजको उत्थान र मानवसेवा हेतु यस महायज्ञबाट हामी सबैले सकारात्मक दिशा तर्फ अग्रसर हुन सकोस् भन्ने मेयर कलवारले कामना समेत गरेका छन् ।
यज्ञमा विभिन्न देवी देवताका प्रतिमा अर्थात् मूर्ति स्थापना गरिएको छ भने भिन्न किसिमका खेलतमासा र मनोरञ्जनको पनि व्यवस्था गरिएको छ। त्यस्तै पूजापाठ र भजन कीर्तन समेत भइरहेको छ।
यज्ञमा भगवानसंग दर्शन गर्न र पूजापाठ गर्न टाढा टाढाबाट भक्तजनहरू आउने क्रम सुरु भएको छ।


