कलैया । नेकपा एमाले मधेश प्रदेशको सरकारमा नेकपा एमालेको तर्फबाट सहभागी रहेका आन्तरिक मामिला,कानून तथा संचारमन्त्री राजकुमार लेखी पार्टी पंक्तिभित्रै आलोचित भएका छन्।
प्रदेशको मिडिया काउन्सिल अध्यक्ष कमलकुमार उपाध्यायलाई मनोनयन पश्चात उनको आफ्नै पार्टीभित्र तीव्र आलोचना भएको हो।
पार्टीको निर्णयविपरीत काम गर्ने प्रवृत्तिले पार्टीको गरिमा घटाएको नेकपा एमाले मधेश प्रदेश कमिटीको २०८२ जेठ १० गते बर्दिवासमा सम्पन्न विस्तारित बैठकमा चर्चा भएको हो।
मन्त्री लेखीको विषयमा सो बैठकमा विशेष बहस भएको बैठकमा सहभागि एक नेताले साझेदारी दैनिकलाई बताए। लेखीले मनोमानी ढंगमा पदाधिकारी नियुक्ति गरेको,पार्टीको संसदीय दल र प्रदेश कमिटीलाई जानकारी नदिएको र संचारसँग सम्बन्धित संवेदनशील विषयहरूमा एकल निर्णय लिएको भन्दै सो बैठकमा लेखीको आलोचना गरिएको हो।
मधेश मिडिया काउन्सिलको अध्यक्षमा कमल उपाध्यायलाई नियुक्त गर्ने विषयमा लेखीको चर्को आलोचना भएको हो। मन्त्री लेखीले नियुक्तिका लागि विभिन्न नेताहरूले सिफारिश गरेको दाबी गर्दै केही नेताहरूको नाम बैठकमा सार्वजनिक गरेका थिए।नेताहरुले सो को प्रतिवाद गरेका थिए।
कमल उपाध्यायको नियुक्तिपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी हाल स्वतः निलम्बनमा परेका छन्।मन्त्री लेखीको व्यवहारलाई गम्भीर रूपमा पार्टीले लिएको छ।
आगामी बजेट सत्रसम्म मन्त्री लेखीलाई यथास्थितिमा राख्ने र त्यसपछि फिर्ता बोलाउने निर्णय बैठकमा लिइएको सहभागि नेताले जनाएका छन्।
बैठकमा प्रेस चौतारी नेपालका नेताहरूले लेखीले आर्थिक लेनदेनका आधारमा उपाध्यायलाई नियुक्त गरेको आरोपसमेत लगाएका थिए। मन्त्रीले २२ लाख रुपैयाँ लिएर नियुक्ति गरेको चर्चा व्यापक रूपमा रहेको छ।
मधेश प्रदेश सरकारमा एमालेको तर्फबाट चार जना मन्त्री छन्। तीमध्ये तीन जना—स्वास्थ्य मन्त्री शत्रुघ्न यादव,खेलकुद मन्त्री प्रमोद जयसवाल र संचारमन्त्री राजकुमार लेखी—मधेशवादी दलहरूमार्फत एमालेमा प्रवेश गरेका हुन्।पार्टीका कोर एमाले नेता तथा भौतिक पूर्वाधार मन्त्री सरोज यादव हुन्।


