कलैया : भारतको बिहार राज्यको विधानसभा निर्वाचनको लागि रौतहट, महोत्तरी र धनुषाको सीमानाका ७२ घण्टाकोलागि बन्द गरिने भएको छ।
रौतहट, महोत्तरी र धनुषा जिल्लाका जिल्ला प्रशासन कार्यालयले छुट्टा छुट्टै सूचना जारी गरी सीमा नाका बन्द गरिने जानकारी दिएको हो। सीमा नाका शनिबार बेलुका ६ बजेदेखि मंगलबार बेलुका ६ बजेसम्म सम्म बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जनाए अनुसार ११ नोभेम्बर कार्तिक २५ गते मंगलबारको दिन बिहार राज्यको विधानसभाको निर्वाचन हुने भएको छ। रौतहटको सीमावर्ती क्षेत्र भारतको विहार राज्य सितामढी तथा पूर्वी चम्पारण जिल्लामा दोश्रो चरणको विधानसभा निर्वाचन हुने भएकोले शान्ति सुरक्षा व्यवस्थापनका लागि नेपाल भारत सीमा नाकामा आकस्मिक सेवा बाहेकका आवागमन पूर्ण रुपमा बन्द गरिने छ।
त्यस्तै महोत्तरी जिल्लाको सीमावर्ती क्षेत्र भारतको विहार राज्यमा दोश्रो चरणको विधानसभा निर्वाचन हुने भएकोले शान्ति सुरक्षा व्यवस्थापनका लागि ७२ घण्टा सीमा नाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलले एक सूचनामार्फत जनाएका हुन्।
त्यसैगरी धनुषा जिल्लाको सीमावर्ती क्षेत्र भारतको विहार राज्यमा दोस्रो चरणको विधानसभा निर्वाचन हुने भएकोले शान्ति सुरक्षा व्यवस्थापनका लागि सीमा नाका बन्द गरिने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।


