राजमार्गमा अव्यवस्थित गतिविधि रोक्न सडक डिभिजनलाई पत्र

रञ्जन यादव
243 पाठक संख्या

जीतपुर : त्रिभुवन राजपथ र महेन्द्र राजमार्गमा बढ्दै गएको अव्यवस्थित गतिविधि रोक्न जीतपुरसिमरा उपमहानगरपालिका सक्रिय भएको छ।

सडक अतिक्रमण, फुटपाथ ओगटेर बनाइने टहरा तथा पसल, नालामा जथाभावी गरिने ढलान र अव्यवस्थित क्रसिङका कारण दैनिक रूपमा समस्या बढेपछि उपमहानगरपालिकाले सडक डिभिजन कार्यालय, हेटौंडासँग तत्काल कारबाहीका लागि औपचारिक पत्राचार गरेको हो।

उपमहानगरपालिकाले दिएको जानकारी अनुसार, यात्रु र पैदलयात्रीबाट लगातार गुनासो आइरहेका छन्। विशेषगरी विद्यालय जाने बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूका लागि सडक पार गर्ने जोखिम झनै बढेको छ। अव्यवस्थित क्रसिङ र कमजोर सडक संरचनाले सवारी दुर्घटनामा वृद्धि भएको तथ्य स्थानीय तहमा बारम्बार उजागर हुँदै आएको छ ।

विगतमा सचेतनामूलक अभियान र सरोकारवाला निकायसँगको सहकार्य हुँदाहुँदै समेत समस्या नियन्त्रणमा नआएको भन्दै नगरपालिकाले अब कडाइका साथ कदम चालिने जनाएको छ। नालामा ढलान गरिँदा वर्षायाममा पानी जम्ने, सडकमा बग्ने र गम्भीर दुर्घटनाको खतरा पैदा हुने स्थिति बारम्बार देखिएकाले तुरुन्तै सुधार गर्नुपर्ने नगरको धारणा छ ।

नगर प्रमुख राजन पौडेलले सडक डिभिजन कार्यालयलाई अवैध अतिक्रमण हटाउनेदेखि लिएर अव्यवस्थित क्रसिङ व्यवस्थित गर्ने, नालामा गरिएको ढलान भत्काएर सफाइ गर्ने र बिग्रिएका सडक खण्ड तत्काल मर्मत गर्ने समेत निर्देशनात्मक अनुरोध गरेका छन्।

सडक संरचना संरक्षण, दिगो व्यवस्थापन र सुरक्षित यातायातका लागि आवश्यक समन्वय अघि बढाउन जिल्ला प्रशासन कार्यालय, बारा र जिल्ला ट्राफिक कार्यालय, निजगढलाई समेत उपमहानगरपालिकाले बोधार्थ पत्र पठाएको छ।

Leave a review

This will close in 0 seconds