अपाङ्गता भएका १७ जनालाई सहायक सामग्री वितरण

रञ्जन यादव
160 पाठक संख्या

जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा १७ जनालाई विभिन्न सहायक सामग्री वितरण गरेको छ।

विशेष समारोहमार्फत विहीबार आयोजित कार्यक्रममा “अपाङ्गता समावेशी समाजको प्रवद्र्धन : सामाजिक उन्नतिको संवद्र्धन” भन्ने नारा अघि सारिएको थियो। उपमहानगरपालिकाले दुईवटा बैशाखी, दुईवटा ट्राइसाइकल र १३ वटा ह्विलचेयर उपलब्ध गराएको महिला ,अपाङ्गता तथा जेष्ठ नागरिक शाखा अधिकृत सिमा यादबले जानकारी दिईन् ।

सामग्री प्राप्त गरेका व्यक्तिहरूले दैनिक जीवनयापन सहज बनाउन ठूलो सहायताको महसुस गरेको बताएका छन्। वडा वडाबाट माग आए अनुसारको सहायक सामग्री खरिद गरिएको बताईएको छ । अरु सहायक सामग्री उपस्थित नभएका अपाङ्गता भएका ब्यक्तिहरुलाई उहाँहरु भएको स्थलमा वा पछि आएको समयमा उपलब्ध गराउँने जीतपुरसिमरा उपमहानगरपालिकाको योजना रहेको छ ।

कार्यक्रममा नगरप्रमुख राजन पौडेल,उपप्रमुख भोला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाँई, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्र कडेँल, जिल्ला अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्ले लगायतको सहभागिता रहेको थियो ।

स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मुलधारमा समावेश गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने उल्लेख गरिरहेका थिए । सहायक सामग्री वितरण कार्यक्रमले उपमहानगरपालिकाले अपाङ्गता अधिकार र सामाजिक समावेशीतातर्फ गरेको प्रयासलाई अझ बृद्धि दिएको बताइएको छ।

Leave a review