पचरौतामा ढुंगा हानाहान दुई घाइते,आठ राउण्ड हवाई फायर

साझेदारी दैनिक
374 पाठक संख्या

बाराको पचरौतामा सोमबार राति महावीरी मेला लगाउने विषयमा स्थानीय विच ढुंगा हानाहान भएको छ ।

राति १० बजेको समयमा पचरौता नगरपालिका वडा नं.०७ बेनौली स्थित झण्डा मेला लगाउने विषयलाई लिएर सो ढुंगा हानाहान भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मेला लगाउने विषयमा गाउँका दुबै पक्ष गरी सयौं मानिसहरू विच वादविवाद भएको थियो ।

सो विवाद ढुङ्गा मुढा हानाहान तथा झडपमा परिणत भएको थियो । तनावग्रस्त स्थितिलाई लिन घटनास्थलमा पुगेको प्रहरी टोलीले राति ११ बजे दुई राउण्ड हवाई फायर गरेको हो ।

झडपलाई सामान्य बनाउनको लागि दुई राउण्ड हवाईफायर गरी भीडलाई प्रहरीले तितर बितर पारेको थियो ।

शुरुमा अवस्था सामान्य बनाईएकोमा राति पौने १२ बजेको समयमा दुबै पक्ष विच एक आपसमा पुनः ढुङ्गा हानाहान भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन पुनः पाँच राउण्ड हवाई फायर गरेको हो ।

यसपछि एक राउण्ड गरी जम्मा आठ राउण्ड गोलि हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यसपछि भिडलाई तितर बितर पारी तत्कालको लागि अवस्था सामान्य बनाईएको छ ।

हालसम्म ढुङ्गा हानाहानबाट दुई जना घाईते भएका छन् । घाइते हुनेमा पचरौता न.पा. ७ बेनौली बस्ने ४० वर्षीय लक्ष्मी पटेल तथा सोही ठाउँका ४२ वर्षीय चण्डीका पटेल रहेको जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

Leave a review