एसपिईएसको १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु

संदिप प्रसाद यादव
375 पाठक संख्या

जीतपुर : (एस.पि.ई.एस) को १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस उत्साहपूर्ण वातावरणमा सुरु भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा पहिलो दिन कक्षा १ देखि ४ सम्म अध्ययनरत विद्यार्थी तथा उनीहरूका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालयले ६ सय ३ जना अभिभावकलाई नै प्रमुख अतिथिको रूपमा सम्मान गर्दै कार्यक्रम आयोजना गरेको थियो। अभिभावकप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले गरिएको यस पहललाई सहभागीहरूले सकारात्मक रूपमा लिएका छन्। कार्यक्रममा विद्यालय प्रशासनले अभिभावक र विद्यालयबीचको सहकार्यलाई थप मजबुत बनाउँदै गुणस्तरीय शिक्षामा निरन्तर जोड दिने प्रतिबद्धता व्यक्त गरेको थियो।

अवसरमा साना विद्यार्थीहरूले आकर्षक नृत्य, गीत–संगीत तथा सन्देशमूलक नाटक प्रस्तुत गरी उपस्थित सबैको मन जितेका थिए। आफ्ना सन्तानको प्रस्तुति अवलोकन गर्दै अभिभावकहरू भावुक र गौरवान्वित देखिन्थे। विद्यालयले विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने लक्ष्यसहित विविध सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम समावेश गरिएको जनाएको छ।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक वसन्त ढकालले गर्नुभएको थियो भने सञ्चालन विद्यालयका सञ्चालक शालिकराम अधिकारीले गर्नुभएको थियो। आफ्नो मन्तव्यमा प्रधानाध्यापक ढकालले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै नैतिक शिक्षा, अनुशासन तथा सह–पाठ्यक्रम गतिविधिलाई समान प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो।

वार्षिकोत्सवको दोस्रो दिन शुक्रबार कक्षा ५ देखि १२ सम्मका विद्यार्थी तथा उनीहरूका अभिभावकहरूको सहभागितामा कार्यक्रम सञ्चालन हुने जानकारी विद्यालयले दिएको छ। दोस्रो दिन विविध सांस्कृतिक प्रस्तुति, पुरस्कार वितरण तथा विशेष सम्मान कार्यक्रम रहने जनाइएको छ।

विद्यालयको १८ वर्षे शैक्षिक यात्रालाई स्मरण गर्दै आयोजना गरिएको वार्षिकोत्सवले विद्यार्थी, अभिभावक र शिक्षकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, एनप्याब्सनका केन्द्रीय सदस्य राम प्रसाद अधिकारीलगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो।

Leave a review

This will close in 0 seconds