देवताल-७ मा खानेपानी र सरसफाइ सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

साझेदारी डेलि
77 पाठक संख्या

कलैया । बाराको देवताल गाउँपालिका वडा नं. ७ अन्तर्गत पिपरपाती, जबदी र रमपुर्वा टोलमा खानेपानी तथा सरसफाइ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

चालु आर्थिक वर्ष २०८२/०८३ को वडा स्तरीय योजना अन्तर्गत लक्की युवा क्लब, सुवर्ण गाउँपालिका–६ मझरिया, बाराको आयोजनामा वैशाख १७ देखि १९ गतेसम्म तीन दिनमा छ चरणमा कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा करिब ३०० भन्दा बढी स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो। विशेषगरी गरिब, विपन्न, दलित तथा मुस्लिम समुदायका महिला र बालबालिकाको उपस्थिति रहेको आयोजकले जनाएको छ। शिक्षा, स्वास्थ्य तथा स्वच्छ खानेपानी र सरसफाइबाट वञ्चित समुदायलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको थियो।

प्रशिक्षणमा प्रमुख प्रशिक्षक गोपाल प्रसाद यादव र अनिल कुशवाहा रहेका थिए भने सहायक प्रशिक्षकहरू अखिलेश कुमार यादव, डा. हफिज मिया, मञ्जु कुमारी यादव र शेख महताब आलमले सहजीकरण गरेका थिए।

तालिमका क्रममा सुरक्षित खानेपानीको प्रयोग, चर्पीको प्रयोग र मलमुत्र व्यवस्थापन, सही तरिकाले हात धुने अभ्यास, महिनावारी सरसफाइ, असुरक्षित पानीका कारण हुने रोग र बच्ने उपाय, घरेलु फोहोर व्यवस्थापन तथा वर्गीकरण, खानेपानी मुहानको संरक्षण तथा व्यक्तिगत र वातावरणीय सरसफाइको महत्वबारे जानकारी दिइएको थियो।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष सतेन्द्र प्रसाद यादवले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा सामाजिक विकास शाखा प्रमुख ललन पटेलको उपस्थिति रहेको थियो। साथै गाउँपालिकाका विभिन्न शाखाका प्रतिनिधि, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय बुद्धिजीवीहरूको पनि उपस्थिति रहेको थियो।

यस अवसरमा घर, समाज तथा गाउँ स्तरमै सरसफाइ अभियान सञ्चालन गर्ने, खुला दिसामुक्त वडा घोषणा तथा यसको प्रभावकारी कार्यान्वयनबारे सहभागीहरूलाई सचेत गराइएको थियो।कार्यक्रमले स्थानीय समुदायमा स्वच्छता र स्वास्थ्यप्रति सकारात्मक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको आयोजकको विश्वास रहेको छ।

Leave a review

This will close in 0 seconds