जीतपुर । बाराको जीतपुर बजार मंगलबार अचानक सुनसान बन्यो। बजार अनुगमन हुने चर्चा फैलिनासाथ व्यवसायीहरूले धमाधम पसल बन्द गरेपछि किनमेलका लागि आएका ग्राहकहरू निराश हुँदै घर फर्किनुपरेको हो।
बिहानदेखि नै बजार क्षेत्रमा “अनुगमन टोली आउँदैछ” भन्ने खबर तीव्र रूपमा फैलिएको थियो। त्यसपछि खाद्यान्न, किराना, कपडा, होटलदेखि दैनिक उपभोग्य सामग्री बिक्री गर्ने अधिकांश पसलहरू एकपछि अर्को गर्दै बन्द हुन थाले। केही समयमै व्यस्त रहने जीतपुर बजार शान्त र सुनसान देखिन थालेको स्थानीयले बताएका छन्।
व्यवसायीहरूका अनुसार सरकारी निकायको अनुगमन हुने निश्चित सूचना नभए पनि जरिवाना वा कारबाहीको डरले धेरैले सावधानीस्वरूप सटर झारेका थिए। बजार क्षेत्रमा सरकारी पोशाकजस्तै कपडा लगाएका केही व्यक्ति देखिएपछि व्यापारीहरू अझ बढी त्रसित बनेका थिए।
पसलहरू बन्द भएपछि किनमेल गर्न आएका सर्वसाधारणले आवश्यक सामग्री खरिद गर्न पाएनन्। “सामान किन्न बजार आएको थिएँ, तर अधिकांश पसल बन्द रहेछन्,” एक स्थानीय ग्राहकले गुनासो गरे।
यद्यपि जीतपुर बजार क्षेत्रमा दिनभर कुनै आधिकारिक अनुगमन टोली भने पुगेन। सम्बन्धित निकायले पनि उक्त दिन जीतपुर क्षेत्रमा अनुगमन कार्यक्रम नरहेको जनाएको छ। बेलुकापख हल्ला मात्र भएको पुष्टि भएपछि बजारका पसलहरू विस्तारै खुल्न थालेका थिए। केही व्यवसायीहरूले आधारहीन हल्लाका कारण व्यापारमा असर परेको बताएका छन्।
स्थानीयवासीहरूले बजार अनुगमन उपभोक्ता हितका लागि आवश्यक भए पनि स्पष्ट सूचना र समन्वयबिना फैलिने त्रासले बजार व्यवस्थापनमा नकारात्मक असर पर्ने टिप्पणी गरेका छन्।यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय बारा नेतृत्वको टोलीले सिमरा बजारमा अनुगमन गर्दै केही व्यवसायीलाई जरिवाना र चेतावनी दिएको थियो।


