जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख राजन पौडेलले उपप्रमुख भोला प्रसाद अधिकारीलाई आफनो पदीय अधिकार र जिम्मेवारी भन्दा बाहिरको कार्यहरु गरेमा कारवाही गर्ने चेतावनी दिएका छन् ।
नगर उपप्रमुख अधिकारीको नाममा एक पत्र लेख्दै नगर प्रमुख पौडेलले कार्यालयको लेटरप्याड,छाप तथा पदको प्रयोग गरेर गरिने तोक,आदेश,निर्देशन तथा निर्णयहरु गर्दा सचेत हुन स्मरण गराएका छन् ।
मिति २०८१ साउन ११ गते नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले प्रमुख प्रशासकीय अधिकृतको नाममा पत्र लेख्दै आर्थिक बर्ष २०८१।०८२ को बजेट कार्यान्वयन नगर्न ,नगराउँन निर्देशन दिएका थिए ।
सोहि सन्दर्भमा नगरप्रमुख पौडेलले उपप्रमुख अधिकारीलाई तपाईले प्रमुख प्रशासकीयलाई पठाउँनुभएको पत्रमा उल्लेखित बिषयसँग सम्बन्धित कुनै पनि कानुनले तपाईलाई अधिकार नदिएको तथा अन्य कुनै प्रत्यायोजित अधिकार समेत तपाईलाई नरहेको अवस्थामा यस्ता गैह«कानुनी र अनाधिकृत पत्राचार नगर्न हुन सचेत गर्दछु,उपप्रमुख अधिकारीलाई लेखिएको पत्रमा उल्लेख छ ।
नगरप्रमुख पौडेलले उपप्रमुख अधिकारीलाई अब उप्रान्त कानूनले दिएका पदीय अधिकार र जिम्मेवारी भन्दा वाहिरका कार्यहरु दोहोरिएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।
पत्र नेपालको संविधान,स्थानीय सरकार संचालन ऐन,२०७४,आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन,२०७६ तथा नियमावाली,२०७७,सार्वजनिक खरिद ऐन,२०६३ तथा नियमावली,२०६४, जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यसम्पादन नियमावली,२०७५ तथा कार्यविभाजन नियमावली,२०७८ का साथै अन्य कानूनहरु विरुद्ध रहेको नगर प्रमुख पौडेलको दाबी रहेको छ ।
सम्मानित अदालतहरुमा विचाराधिन रहेको विषय तथा अदालतवाट भएको आदेशमा उप प्रमुख अधिकारी स्वमं न्यायिक समितिको संयोजकले आदेश विपरित भई कार्य गर्दा सम्मानित अदालतको मानहानी हुन सक्ने समेत नगरप्रमुख पौडेलको पत्रमा उल्लेख गरेका छन ।

