सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिका–३ श्रीनगर बैरियास्थित नहर खण्डको बाटो हुँदै अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको भारतीय कुखुरा प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढ को टोलीले शुक्रबार बिहान करिब ९ बजे भारतबाट चोरी पैठारी गरी ल्याइँदै गरेको ४८ वटा जिउँदा कुखुरा नियन्त्रणमा लिएको हो । सीमावर्ती नहर क्षेत्र प्रयोग गरी कुखुरा भित्र्याइँदै गरेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको जनाएको छ ।
प्रहरीका अनुसार बरामद कुखुरामा स्वास्थ्य परीक्षण तथा आवश्यक क्वारेन्टिन प्रक्रिया पूरा नभएको पाइएकाले पशुजन्य रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै तत्काल नष्ट गरिएको हो । सोही दिन इलाका प्रहरी कार्यालय परिसरभित्र खाल्डो खनी कुखुरा पुरेर नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।
कुखुरा नष्ट गर्ने क्रममा वडा नं. ७ का वडाध्यक्ष विवेक मेहता, स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो । स्थानीय तहका प्रतिनिधिहरूले सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि प्रहरी प्रशासनसँगको समन्वय अझ प्रभावकारी बनाइने बताएका छन् ।
यसैबीच, स्थानीय पोल्ट्री व्यवसायी तथा नेपाली कुखुरा फर्म सञ्चालकहरूले सिम्रौनगढ बजारमा भारतीय कुखुरा बिक्री भइरहेको सूचना पाएपछि बजारका विभिन्न बिक्री केन्द्रमा पुगेर अवैध रूपमा ल्याइने कुखुरा बिक्री नगर्न चेतावनी दिएका छन् । उनीहरूले सस्तो भारतीय कुखुराका कारण स्थानीय किसान तथा व्यवसायी मारमा परेको गुनासो गरेका छन् ।
व्यवसायीहरूले खुला सीमाको फाइदा उठाउँदै दैनिक रूपमा विभिन्न खाद्य तथा पशुजन्य सामग्री अवैध रूपमा नेपाल भित्रिने गरेको भन्दै सम्बन्धित निकायलाई सीमा क्षेत्रमा निगरानी बढाउन आग्रह गरेका छन् । प्रहरीले पनि सीमावर्ती क्षेत्रमा गस्ती र चेकजाँचलाई थप कडा बनाइने जनाएको छ ।


