सिमरा । स्थानीय फुटबललाई प्रवर्द्धन गर्ने उद्देश्यसहित केआईईसि कन्सल्टेन्सीले सिमरा युनाइटेड क्लबलाई खेल पोशाक (जर्सी) सहयोग गरेको छ। मंगलबार आयोजित एक कार्यक्रममा क्लबका खेलाडी तथा पदाधिकारीलाई जर्सी हस्तान्तरण गरिएको हो।
कार्यक्रममा केआईईसि कन्सल्टेन्सीका निर्देशक सबु कँडेल खनालले खेलकुद युवालाई अनुशासित, जिम्मेवार र सकारात्मक जीवनशैलीतर्फ डो¥याउने माध्यम भएको बताउँदै यसको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने धारणा राखे।
उनले आगामी दिनमा पनि खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाए। खनालले खेलाडीहरूलाई आगामी प्रतियोगितामा राम्रो प्रदर्शन गर्न शुभकामना दिँदै उत्साह र लगनका साथ अघि बढ्न आग्रह गरे।
जर्सी ग्रहणपछि सिमरा युनाइटेड क्लबका कप्तानले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसले खेलाडीहरूको आत्मविश्वास बढाएको र आगामी खेलमा अझ राम्रो प्रदर्शन गर्न प्रेरणा मिलेको बताए।
स्थानीय स्तरमा सक्रिय सिमरा युनाइटेड क्लबले विभिन्न फुटबल प्रतियोगितामा निरन्तर सहभागिता जनाउँदै आएको छ। क्लबले युवा प्रतिभा विकास र खेल संस्कृतिको विस्तारमा योगदान पुर्याउँदै आएको बताइएको छ। केआईईसिको सहयोगले आगामी खेल गतिविधिमा थप हौसला मिल्ने क्लबको विश्वास छ।


