बारा । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले ट्राफिक नियमको पालना गरेर दुर्घटनाबाट बच्न आग्रह गरेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराको आयोजनामा बुधबार कलैयास्थित भरत चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
मधेस प्रदेश ट्राफिक कार्यालय जनकपुर,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाराको सहकार्य तथा समन्वयमा सो कार्यक्रम भएको हो। सडक अनुशासन पालना तथा सवारी दुर्घटना न्यूनीकरण लागि ट्राफिक जनचेतनामुलक सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै उनले हेलमेट लगाएर मात्र मोटरसाइकल चलाउन भनेका हु्न्।
बालमन्दिर अगाडिबाट निस्किएको र्याली कलैया बजारको नगर परिक्रमा गरि भरत चौकमा कोण सभामा परिणत भएको थियो। उनले पार्किङ व्यवस्थित नहुने,जथाभावी पार्किङ गर्ने,हेल्मेट नलगाउने,फेरि फुकाली दिने जस्ता कृयाकलापले दुर्घटना बढाउने गरेको उनले बताए।
हेल्मेट फुकालेर हिरो भइदैन,हेल्मेट लगाएर कपाल विगरिदैन,हेल्मेट फुकालेर कपाल राम्रो हुने होईन भन्ने उनले अभिव्यक्ति दिए। यहीँको बासिन्दाले यहाको ठाउँ बनाउनुपर्छ उनले भने।
कलैयास्थित भरत चौक वरिपरिको ट्राफिक व्यवस्थापन चाडो भन्दा चाडो गर्न ट्राफिक प्रहरी,नेपाली प्रहरीं,सशस्त्र प्रहरी लगायत सबै सुरक्षा निकायलाई उनले उक्त अवसरमा निर्देशन समेत दिएका छन्।
ट्राफिक व्यवस्थापन गरौं,सदरमुकाम हेर्दा हामी छिमेकी देशको सानो रस्सामा उभेको लाग्छ,उपमहानगरपालिकाको सदरमुकाम हो,कस्ले भन्छ,यो सिडिओ र प्रहरीले मात्र चिन्ता गरि दिनु पर्ने भन्दै उनले व्यवस्थित नगर बनाउन आग्रह गरे।
हाम्रो जिम्मेवारी र कर्तव्य के,कलैयालाई व्यवस्थित बनाउन सहयोग गर्ने मात्र हो उनले प्रष्टाए। बालबालिकाहरुले सानै उमेरमा तीब्रगतिमा मोटरसाइकल नचलाउन उनले सुझाव दिए। बुवाआमा र समाजको योगदान नबिर्सन समेत उनले आग्रह गरे।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक दिपक केसीले गत आर्थिक वर्ष २०८१–०८२ मा १ हजार १४७ सवारी दुर्घटनामा ९३ जनाले ज्यान गुमाएको जनाए। एक हजार आठ सय ८८ जना घाइते भएको बताएका छन्।
साथै चालू आर्थिक वर्ष २०८२–०८३ को हालसम्म १ हजार ११४ सवारी दुर्घटनामा ७० जनाले ज्यान गुमाएको जनाए। एक हजार आठ सय ५१ जना घाइते भएको उनले बताए ।
अघिल्लो वर्षहरु भन्दा मृत्युको संख्या कम नै रहेको देखिएतापनि दुर्घटनाको संख्या र घाईतको संख्यामा वृद्विहुनुले स्थिति भयावह भएको उनको भनाई थियो। सवारी चालकहरुलाई ट्राफिक नियम, सडक अनुशासनको पालना, सुरक्षा सचेतना अभिवृद्धि गरी संभावित दुर्घटनाहरुलाई न्यूनिकरण गरी मानविय र भौतिक क्षतिलाई कमि गर्नु सप्ताहको उद्देश्य रहेको उनले बताए ।
नागरिक समाज, आमा समुह, क्लव, टोल सुधार समिति, यातायातव्यावसायी, यातायातमजदुर, शिक्षक, विद्यार्थीहरुसँगको हातेमालो, सहकार्य र सामुहिकप्रयत्नले दुर्घटना न्यूनिकरण गर्न सकिने उनले जनाए।
सवारी दुर्घटना मानविय, यान्त्रिक, वातावरणीय (भौगोलिक) का साथै सडकको अवस्थाले हुने गरेको उनले जनाए। ८० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय कारणले हुने गरेको देखिएको ट्राफिक प्रहरी निरीक्षक केसीले बताए ।
दुर्घटनाको संख्या बढनुमा लापरवाही, असावधानी, हेलचक्याई, तिव्रगति, मादक पदर्थ सेवन तथा लागुऔषध सेवन गरि सवारी साधनचलाउनु रहेको उनले जनाए। सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउनु, हेलमेटको प्रयोग नगर्नु, सवारी क्षमताभन्दा बढी यात्रागर्नु पनि दुर्घटनाको एक कारण भएको उनले जनाए।
सडक पेटीमा निर्माण सामाग्री राख्नु, चौपायाबाध्नुका साथै सडकहरु बेलैमा मर्मत सम्भार नगर्नु सवारी दुर्घटनाको कारण भएको उनले जनाए। सम्पूर्ण सरोकारवाला निकाय तथा सबैले आफ्नो आफ्नो क्षेत्रबाट गाँउगाँउमा, टोलटोलमा आफुले जानेका, बुझेका ट्राफिक सम्बन्धि नियमहरु, जनचेतना सम्बन्धि ज्ञानहरु जानकारी गराउने हो भने केही न केहीमात्रमा सवारी दुर्घटना कम हुने उनले जनाए।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्रकुमार साह,यातायात व्यवस्था कार्यालय बाराका प्रमुख चिन्तन आचार्य,राष्ट्रिय अनुसन्धानका उप–निर्देशक सरोज निरौला,श्री रिपुमर्दन गणका प्रमुख सेनानी गिरिराज गौतम,जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक मीन बहादुर घले,सशस्त्र प्रहरी बल नम्बर १२ गणका निमित्त गणपति प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारी,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक पथलैयाका सूचना अधिकारी नवराज न्यौपाने,जेन्जी एण्ड युथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेय, विभिन्न राजनीतिक दलका प्रतिनिधि,बिधालयका बिद्यार्थी,सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो।
कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ बाराका सह-सचिव इन्दिप कोइरालाले गरेका थिए ।


