बारा । मिटरब्याजविरुद्ध आन्दोलनरत पक्षको ६ सदस्यीय वार्ता टोली अन्तिम सहमतिमा हस्ताक्षर गर्न काठमाडौं प्रस्थान गरेको छ।
मंगलबारदेखि गृहमन्त्री सुदन गुरुङ र आन्दोलनरत पक्षबीच जारी वार्ता निर्णायक चरणमा पुगेपछि टोली सिमरा विमानस्थलबाट काठमाडौं गएको अभियानकर्मी हेमराज दाहालले जानकारी दिए।
उनका अनुसार मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालका अध्यक्ष अवधेश कुशबाहासहित मनोजकुमार पासमान, निर्गराज जैशी, किरण परियार, रिजन राना र लक्ष्मी घिमिरे रहेको ६ सदस्यीय टोलि अन्तिम सहमतिमा हस्ताक्षर गर्न काठमाडौं प्रस्थान गरेको हो।
तीन दिनदेखि जारी वार्तापछि आजको छलफललाई दुवै पक्षले निर्णायक रूपमा लिएका छन्। अन्तिम सहमतिमा हस्ताक्षर गर्ने उद्देश्यले उक्त टोलि काठमाडौं गएको छ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको नेतृत्वमा पीडितहरूले असार २५ गते जनकपुरस्थित तिरहुतिया गाछीबाट काठमाडौंतर्फ ‘पैदल मार्च’ सुरु गरेका थिए।
आन्दोलनकारीहरूले फर्जी लिखत खारेज, मिटरब्याजविरुद्ध शक्तिशाली विशेष ऐन निर्माण, विशेष न्यायाधिकरण गठन, साहु–महाजनको सम्पत्तिको छानबिन, पीडितको सम्पत्ति फिर्ता तथा न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्नुपर्ने लगायतका ६ बुँदे माग गृहमन्त्रीसमक्ष राखेका छन्।
अभियानकर्मी हेमराज दाहालका अनुसार वार्ताबाट सहमति नजुटे आन्दोलनकारीहरूले पुनः पैदल मार्चलाई निरन्तरता दिनेछन्।


