बारामा प्रशासनद्वारा तीन ग्यास पसलमा छड्के अनुगमन

साझेदारी डेलि
108 पाठक संख्या

बारा । जिल्ला प्रशासन कार्यालय बाराको अनुगमन टोलीले कलैयाका तीन वटा एलपी ग्यास पसलमा छड्के अनुगमन गरेको छ।

बिहीबार जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा रत्नबहादुर स्याङतानको नेतृत्वमा अनुगमन टोलीले न्यु शिवशक्ति स्टोर्स, सोना ग्यास स्टोर्स र अस्मिता स्टोर्समा अनुगमन गरेको हो।

अनुगमनका क्रममा न्यु शिवशक्ति स्टोर्सले खुद्रा ग्यास पल्टी गरेर बिक्री गरिरहेको पाइएको नायब सुब्बा स्याङतानले जानकारी दिए। त्यस्तै, सोना ग्यास स्टोर्सले बिक्रीका लागि पसलमा राख्नुपर्ने पाँच वटा ग्यास सिलिन्डर आफ्नै घरमा राखेको पाइएको थियो। उक्त ग्यास सिलिन्डर पसलमै राखेर बिक्री गर्न प्रशासनले चेतावनी दिएको उनले बताए।

अस्मिता स्टोर्समा भने अनुगमनका क्रममा कुनै कैफियत नदेखिएको स्याङतानले जानकारी दिए। ग्यास पसलहरूमा निरन्तर अनुगमन गरिने उनले बताए।

यसैबीच, जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बुधबार खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति तथा वितरण सुनिश्चित गर्न ग्यास उत्पादक, वितरक तथा डिलरहरूलाई कडाइका साथ नौ बुँदे निर्देशन जारी गरेका थिए।

बजारमा ग्यासको कृत्रिम अभाव, कालोबजारी तथा उपभोक्ताबाट प्राप्त गुनासा र उजुरीप्रति जिल्ला प्रशासन कार्यालय बाराको गम्भीर ध्यानाकर्षण भएको प्रशासनले जनाएको छ।

Leave a review

This will close in 0 seconds