कलैया : शैक्षिक तालिम केन्द्रको सभाहलमा सञ्चालित महिला प्रधानाध्यापकहरुका लागि नेतृत्व क्षमता बिकास सम्बन्धी तीन दिने कष्टमाईज तालिम बिहीबार सम्पन्न भएको छ।
तालिममा मधेश प्रदेशको आठ जिल्लाका २० वटा पालिकाका ६० वटा विद्यालयका ६५ जना महिला प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो। उक्त तालिममा शैक्षिक तालिम केन्द्रका बरिष्ठ शाखा अधिकृत राजन भण्डारी, शाखा अधिकृत बबिता कुशवाहा, भागिरत झा, कोष तथा लेखा नियन्त्रण कार्यालय बाराका प्रमुख राधेश्याम गिरी, रोष्टर प्रशिक्षक तेजीलाल साह, रामसिहासनकुमार यादव, लक्ष्मण भटृराई, सबिता शर्मा लगायतकाले प्रशिक्षण दिएका थिए।
तालिममा सहभागि महिला प्रधानाध्यापकहरुलाई कुशल नेतृत्व, विद्यालयको खाता , प्रशासन लगायतको बारेमा समेत जानकारी गराईएको थियो । महिला प्रधान अध्यापकहरुको क्षमता अभिबृद्धी, शैक्षिक बिधी लगायतको बारेमा दक्ष बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो।
शैक्षिक तालिम केन्द्रका बरिष्ठ शाखा अधिकृत राजन भण्डारीको अध्यक्षतामा सम्पन्न तालिमको समापन समारोहमा सहभागि तुलसा कुमारी गौतम, एजुकेशन पेजेजका कार्यकारी निर्देशक लवराज ओली लगायतकाले तालिम बाट सिकेका कुरालाई विद्यालयमा अवलम्बन गर्नुपर्ने बताए।
उनीहरुले यस तालिमबाट महिला प्रधानाध्यापकहरुलाई नेतृत्व गर्न सहज हुने समेत बताए। शैक्षिक तालिम केन्द्र बाराको आयोजनामा युनिसेफ नेपालको आर्थिक सहयोगमा एजुकेशनल पेजेजको प्राबिधिक सहयोग तथा सहकार्यमा उक्त तालिम सम्पन्न भएको हो ।

