कोल्हबीमा विविध कार्यक्रमसहित संविधान दिवस मनाइयो

साझेदारी डेलि
63 पाठक संख्या

कोल्हबी । बिनिता चौधरी / बाराको कोल्हबीमा संविधान दिवस २०८३ विविध कार्यक्रमसहित शनिबार मनाइएको छ।

कोल्हबी नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको हो । नगर प्रमुख रामप्रसाद चौधरीले गमलामा पानी हालेर उक्त कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले नेपालको संविधानले विभिन्न जातजाति, समुदाय तथा वर्गका नागरिकको हक, अधिकार र पहिचान सुनिश्चित गरेको बताए। मुस्लिम, जनजाति, दलित तथा पिछडा वर्गलगायत सबै समुदायका नागरिकका अधिकार संविधानले समेटेको उनले बताए ।

नगर प्रमुख चौधरीले आफ्नो कार्यकालमा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसँगै विद्यालयहरूको भौतिक पूर्वाधार विकास तथा शिक्षाको गुणस्तर सुधारका लागि काम भइरहेको बताए। विद्यालयको शैक्षिक वातावरण सुधार गर्दै विद्यार्थीको सिकाइ उपलब्धि बढाउने विषयलाई नगरपालिकाले प्राथमिकता दिएको उनको भनाइ थियो।

संविधान दिवसका अवसरमा सम्मानित विद्यार्थीलाई बधाई दिँदै उनले आगामी दिनमा पनि उत्कृष्ट उपलब्धि हासिल गर्न मेहनत र लगनशीलताका साथ अध्ययन गर्न सुझाव दिए। विद्यार्थीको सफलतामा अभिभावकको भूमिका महत्वपूर्ण हुने भन्दै उनले आफ्ना छोराछोरीलाई नियमित रूपमा समयमै विद्यालय पठाउन आग्रह गरे।

नेपाल सरकारले तोकेको लक्ष्यअनुसार २०८५ सालसम्म साक्षर नेपाल घोषणा गर्ने अभियानमा कोल्हबी नगरपालिका पनि अघि बढिरहेको उनले बताए। नगर क्षेत्रमा साक्षरता अभियान प्रभावकारी बनाउन आवश्यक तयारी तथा काम भइरहेको उनले जानकारी दिए।

कोल्हबी नगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र चौधरी, शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख मिश्रीलाल साह, इलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख प्रहरी निरीक्षक बुद्धिमान चोङ्वाङ तथा नगरपालिका–१ देखि ११ सम्मका वडाध्यक्षहरूको उपस्थिति थियो।

कार्यक्रममा नगर क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा विद्यार्थी सहभागी भएका थिए। नगरस्तरीय परीक्षाअन्तर्गत कक्षा ५ र ८ मा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी तथा उत्कृष्ट नतिजाका लागि योगदान पुर्‍याउने विषयगत शिक्षकलाई सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख मिश्रीलाल साह, कोल्हबी–३ का वडाध्यक्ष किशुनदयाल चौधरी तथा श्री अनुप दिपनी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश चौधरीले मन्तव्य व्यक्त गरेका थिए। निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन लोकनाथ ओलीले गरेका थिए।

Leave a review