सहमतिको प्रयासपछि कोल्हबी कांग्रेसको नगर अधिवेशन भोलि, तयारी पूरा

साझेदारी डेलि
66 पाठक संख्या

बारा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बाराको कोल्हबी नगरपालिकाको नगर अधिवेशन भोलि (असोज ९ गते) हुने भएको छ। सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयासका कारण निर्धारित कार्यतालिकाभन्दा एक दिन ढिलो अधिवेशन हुन लागेको हो।

नेपाली कांग्रेसका नेता हरराम चौधरीका अनुसार कोल्हबी नगरपालिकाको अधिवेशन सहमतिमै सम्पन्न गर्ने प्रयास भइरहेकाले अधिवेशनको मिति एक दिन सारिएको हो। पार्टीको अधिवेशन कार्यतालिकाअनुसार असोज ७ र ८ गते पालिका अधिवेशन सम्पन्न गर्ने कार्यक्रम रहेको थियो।

नेता चौधरीले भोलि हुने अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। उनका अनुसार सहमतिमार्फत नेतृत्व चयन गर्ने उद्देश्यले स्थानीय तहमा आवश्यक छलफल र समन्वय गरिएको थियो।

बाराको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पाँचवटा पालिका रहेका छन्। तीमध्ये चारवटा पालिकाको अधिवेशन निर्धारित कार्यतालिकाअनुसार सम्पन्न भइसकेको र कोल्हबी नगरपालिकाको अधिवेशन मात्रै सहमतिको प्रयासका कारण बाँकी रहेको चौधरीले बताए।

“सहमतिको आधारमा अधिवेशन सम्पन्न गर्ने उद्देश्यले छलफल र समन्वय गर्दा कोल्हबीको अधिवेशन एक दिन लम्बिएको हो,” नेता चौधरीले भने, “भोलि अधिवेशन सम्पन्न गर्ने गरी सम्पूर्ण तयारी पूरा भइसकेको छ।”

कोल्हबीको नगर अधिवेशनबाट नगर कार्यसमिति तथा नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढ्नेछ। पार्टीभित्रको आन्तरिक सहमति कायम गर्दै अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको कांग्रेस नेताहरूले बताएका छन्।

Leave a review