बारा । सशस्त्र प्रहरीले बाराको सीमा क्षेत्रबाट भन्सार छली गरी भारतबाट नेपाल भित्र्याउँदै गरिएको सयपत्री फूलका माला बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराअन्तर्गतका सीमा सुरक्षा गुल्म मटिअर्वा तथा बीओपी बरैनियाबाट खटिएको गस्ती टोलीले सीमा क्षेत्रमा गरेको निगरानीका क्रममा उक्त फूलका माला बरामद गरेको हो।
गस्ती तथा निगरानीका क्रममा करिब १ लाख ६४ हजार ५०० रुपैयाँ बराबरका ५७९ लहरी सयपत्री फूलका माला बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा बरामद गरिएका सम्पूर्ण सयपत्री फूलका माला आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी नष्ट गरिने जनाइएको छ।
सीमा क्षेत्रमा हुने अवैध आयात तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरी बलले निगरानी तथा गस्तीलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ।



