वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जको आर्थिक अवस्था चलायमान बनाउन देशकै मुख्य नाकाको रुपमा रहेको सीमा नाकालाई २४ सै घण्टा खुला राख्ने व्यवस्था मिलाउन पनि माग गरेका छन ।
शुक्रबार अर्थमन्त्रालयमा आयोजित अन्तर सरकारी वित्तीय हस्तान्तरणका लागि परामर्श तथा समन्वय कार्यक्रममा बोल्दै मेयर सिंहले यस्तो माँग गरेका हुन । उनले अर्थमन्त्री प्रकाश शरण महतसंग वीरगञ्ज नाकाबाट उठ्ने भन्सार राजश्वको निश्चित प्रतिशत रकम वीरगञ्ज महानगरलाई उपलब्ध गराउन आग्रह गरे ।
अर्थमन्त्री महतलाई वीरगञ्ज महानगरका बारे जानकारी गराउदैै मेयर सिंहले देशको कूल राजश्व संकलनमा वीरगञ्जको योगदान आधाभन्दा बढी भए पनि केन्द्र सरकारबाट वीरगञ्ज सँधै उपेक्षामा पर्दै आएको गुनासो गरेका थिए ।
वीरगञ्ज भन्सार कार्यालयले मात्रै वार्षिक साढे दुई खर्ब भन्दा बढी राजश्व उठाएर सरकारलाई दिदै आएको भन्दै मेयर सिंहले भने, ‘साढे दुइ खर्ब उठाएर दिने वीरगञ्ज महानगरले केन्द्र सरकारबाट वर्षमा कति बजेट पाउँछ ? भन्न पनि मलाई अप्ठ्यारो लागिरहेको छ ।
वीरगञ्ज नाकाबाट संकलन हुने राजश्व अन्य पालिका सरह बाँडफाँड हुने अवस्थाले वीरगञ्जलाई घाटा मात्रै भएको सिंहले बताएका थिए ।
त्यसैले प्रभावित क्षेत्रको आधारमा वीरगञ्ज भन्सार लगाएतका कार्यालयबाट संकलीत राजश्वको निश्चित प्रतिशत रकम वीरगञ्ज महानगरले पाउनुपर्ने अर्थमन्त्री महत समक्ष मेयर सिंहले बताए ।
वीरगञ्जलाई देशकै आर्थिक राजधानी भनिदै आएको भए पनि त्यस अनुसारको पूर्वाधार र सेवा सुविधा राज्यबाट नपाएकाले वास्तविक रुपमै आर्थिक राजधानी बन्ने गरी वीरगञ्जको पुर्वाधार विकासमा जोड दिन पनि सिंहले अनुरोध गरे । यसका साथै मेयर सिंहले संस्थागत घरवहाल कर आन्तरीक राजश्व कार्यालयले उठाउने काम बन्द गर्नुपर्ने, मालपोत रजिष्ट्रेशन शुल्क मासिक रुपमा दाखिला गर्ने व्यवस्था मिलाउनुपर्ने, आन्तरिक आय ठेक्का व्यवस्थापनका लागि नमुना कानुन निर्माण गर्नुपर्ने माग पनि राखेका थिए ।